जिल्लाभर ३१ हजार हेक्टर खेतीयोग्य जमीनमा छैन सिँचाइ सुविधा
What you should know
झापा — जिल्लामा गत आर्थिक वर्षको तुलनामा यस वर्ष धान रोपाइँ करिब ७ प्रतिशतले घटेको छ । कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा यस वर्ष ६ दशमलव ८६ प्रतिशतले रोपाइँ घटेको हो ।
उनका अनुसार जिल्लाभर ७५ हजार ४ सय ५९ दशमलव १८ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । तर, गत आइतबारसम्मको तथ्यांक अनुसार जिल्लाभर ६७ हजार ५ सय १३ हेक्टर अर्थात ८९ दशमलव ४७ क्षेत्रफलमा मात्रै रोपाइा भएको छ ।
जबकी गत आर्थिक वर्षको यही अवधिमा ९६ दशमलव ३३ प्रतिशत रोपाइँ सकिएको थियो । यद्यपि समयमा पर्याप्त वर्षा नभएर साउन १५ पछि मात्रै वर्षा भएका कारण जिल्लाका कतिपय पालिकाका किसान अहिले पनि रोपाइँमा व्यस्त छन् ।
जसका कारण रोपाइँ क्रमशः बढ्ने क्रममा रहेको उनको भनाइ छ । ज्ञान केन्द्रका अनुसार जिल्लामा सबैभन्दा धेरै रोपाइँ कनकाई, मेचीनगर, शिवसताक्षी लगायतका पालिकामा भएको छ भने अर्जुनधारा, हल्दीबारी लगायतका पालिकामा अन्यको तुलनामा कम रोपाइँ भएको छ ।
३२ प्रतिशत खेतीयोग्य जमिनमा छैन सिँचाइ सुविधा
ज्ञान केन्द्रका सूचना अधिकारी भण्डारी जिल्लाभर खेतियोग्य जमीनमध्ये ३२ प्रतिशत अर्थात ३० हजार ९ सय ८४ हेक्टर जमीनमा सिँचाइ सुविधा नभएको बताउँछन् । अर्थात यहाँ सिँचाइका लागि आकाशे पानीको भर छ ।
उनका अनुसार बाँकी रहेको ६८ प्रतिशत अर्थात ६७ हजार ७ सय ३२ हेक्टर जमीनमा भने भूमिगत तथा नहर सिँचाइ पुगेको छ । यो तथ्यांक २०७८ को कृषि गणना अनुरुप तयार पारिएको हो । आकाशे पानीको भरमा खेती हुने जमीन धेरै रहेकाले समयमा पर्याप्त वर्षा नहुँदा बर्सेनि धान रोपाइँमा प्रभाव पर्दै आएको छ ।
