दुई वर्षअघि सिकारमा प्रतिबन्ध लगाइएपछि भिरमाहुरी सामुदायिक वनमा फैलिन थालेका छन्, पर्यावरणमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ।
What you should know
खोटाङ — केपिलासगढी गाउँपालिकामा भिरमाहुरी फैलिन थालेको छ । वडा नम्बर-१ फेदी, ७ सुङ्देल र ६ दिप्सुङमा भिरमाहुरी फैलिएको हो । फेदीमा दुई वर्षअघि मासिन लागेको भिर माहुरी सिकार गर्न प्रतिबन्ध लगाइएपछि फैलिन थालेको वडाअध्यक्ष निरकुमार राईले बताएका छन् ।
उक्त ठाउँको विभिन्न सामुदायिक वनका भिरहरूमा माहुरी फैलिएको राईको भनाइ छ । ‘दुई वर्षअघिसम्म मासिने अवस्थामा पुगेको भिर माहुरी सिकारमा प्रतिबन्ध लगाइएपछि फैलिन थालेको छ,’ उनले भने,‘भिर माहुरीले पर्यावरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले दुई वर्षअघि नै सिकार गर्न प्रतिबन्ध लगाइएको हो ।’
त्यस्तै उक्त गाउँपालिकाकै वडा नं ७ सुङ्देलमा पनि भिर माहुरी फैलिएको छ । उक्त वडाको बुङ्बुङ्गे सामुदायिक वन, दाइलुबमा सामुदायिक वनका भिरहरूमा प्रशस्त रूपमा भिरमाहुरी फैलिएको वडाअध्यक्ष तेजकुमार राईले बताएका छन् । ‘१०-१२ वटा भिरैभरि माहुरी देखिन्छ, एउटै भिरमा १७ वटासम्म भिरमाहुरीको गोला देखिन्छ’ राईले भने,‘भिर माहुरी त कति छ कति !’
त्यस्तै वडा नम्बर-६ दिप्सुङमा पनि भिरमाहुरी फैलिएको स्थानीयले बताएका छन् । उक्त वडाको माथिल्लो महभिर र तल्लो महभिरमा भिरमाहुरीले गोला लगाउने गरेको वडाअध्यक्ष गोपाल राईले बताएका छन् । भिरमाहुरीले जडिबुटीजन्य फलफूलको रसबाट मह बनाउने भएकाले यसको मह औषधीय गुणले भरिपूर्ण हुने भिर माहुरीबारे जानकार फेदीका धनकुमार राईको भनाइ छ ।
‘भिर माहुरीले जडिबुटीजन्य फलफूलको रसबाट मह बनाउने भएकाले यसको मह औषधीय गुणले भरिपूर्ण हुन्छ,’ राईले भने, ‘यसको मह प्रतिकेजी तीन हजार रूपैयाँसम्म पर्छ ।’ उभौली गरी वर्षमा दुई चोटी भिर माहुरीको सिकार गर्ने परम्परा छ । डोरीको सहायताले जोखिमपूर्ण भिरमा पसेर मह सिकार गरिन्छ ।
