कावेली नदीबाट थप २२ मेगावाट विद्युत् उत्पादन

उत्पादित विद्युत् पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका १, अमरपुरमा रहेको १३२ केभिए मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

श्रावण २१, २०८२

आनन्द गौतम

Additional 22 MW electricity generation from Kaveli river

ताप्लेजुङ — कावेली नदीबाट थप २१.९३ मेगावाट विद्युत् उत्पादन भएको छ । काबेली हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित काबेली–३ क्यास्केड जलविद्युत् आयोजनाले मंगलबारदेखि परीक्षण उत्पादन सुरु गरेको हो ।

सिरिजङ्गा गाउँपालिका ५, पेदाङ ६ खेवाङ र ७ मामाङखे प्रभावित क्षेत्रको रुपमा रहेको छ । २०७९ माघ ५ गते सुरु भई २०८२ साउन २० गते निर्माण सम्पन्न भई परीक्षण उत्पादन सुरु गरिएको आयोजनाका सूचना अधिकारी मेघनाथ ढुङ्गानाले जानकारी दिए । 

ढुङ्गानाका अनुसार यसको लागत चार अर्ब २८ करोड ५९ लाख रहेको छ। कम्पनीको २५ र एनएमबी बैंक लिमिटेडको नेतृत्वमा प्रभु बैक लिमिटेड तथा नबिल बैंक लिमिटेडबाट ७५ प्रतिशत ऋण लगानी रहेको ढुङ्गानाले जानकारी दिए । 

वडा नम्बर ७ खेवाङको ओथाममा इन्टेक, वडा नम्बर ५ पेदाङमा पावर हाउस रहेको यसको लम्बाई पाँच हजार एक सय ४० मिटर रहेको छ । उत्पादित विद्युत् पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका १, अमरपुरमा रहेको १३२ केभिए मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully