हलेसी दर्शन गरेर फर्कंदै गर्दा माइक्रोबस दुर्घटना, एकको मृत्यु

कदुवास्थित डौँठेखोला नजिक दुर्घटना भएको माइक्रोबसमा १६ यात्रु थिए, घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ।

श्रावण १९, २०८२

रासस

Microbus accident on Halsey returning from Darshan, one dead

What you should know

खोटाङ — हलेसी मन्दिर दर्शन गरेर सिरहातर्फ जाँदै गरेका यात्रु सवार माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । 

प्रदेश २-०-१-००१ ज ००५३ नम्बरको माइक्रोबस मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम-हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिकै आज बिहान करिब ९ बजे दुर्घटना भएको हो । 

दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छैन । माइक्रोबस दुर्घटनाका घाइतेलाई उद्धार गरेर उपचारका लागि एम्बुलेन्समार्फत घुर्मीतर्फ पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । 

दुर्घटनाका घाइतेमध्ये छ जनालाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने भएकाले नगरपालिकाको एम्बुलेन्समार्फत काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रवक्ता गिरीले बताए । घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा उपचारत आठ जनाको अवस्था सामान्य बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । 

दुर्घटनाग्रस्त माइक्रोबसमा १६ जना यात्रु सवार रहेको खुलेको छ । दुर्घटनास्थलमा खटिएका प्रहरी र स्थानीयको सहयोगमा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए  ।

दुर्घटनाग्रस्त माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनास्थलमा बुट्यान र झाडी भएकाले ठूलो सङ्ख्यामा मानवीय क्षति हुनबाट जोगिएको प्रवक्ता गिरीले जानकारी दिए ।  

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ । माइक्रोबस दुर्घटना हुँदा विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा लागेको ‘बोलबम’ मेला भरेर फर्किएका दर्शनार्थी दुर्घटनामा परेको हो । 

हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा साउन महिनाभर बोलबम लाग्ने गर्दछ । महिना दिनसम्म लाग्ने बोलबम मेला भर्नका लागि दर्शनार्थीले निजी तथा भाडाका गाडी रिजर्भ गरेर ल्याउने गरेका छन् ।

रासस

Link copied successfully