कोशीमा पारित भयो खानेपानी विधेयक

कोशीले खानेपानीलाई सेवा होइन, अधिकारको रूपमा व्याख्या गर्दै प्रदेशस्तरमा नयाँ विधेयक लागू गरेको छ।

श्रावण १८, २०८२

पर्वत पोर्तेल

Water Bill passed in Koshi

What you should know

विराटनगर — कोशी प्रदेशका नागरिकले अब स्वच्छ, सुरक्षित र सुलभ खानेपानी तथा सरसफाइ सेवा कानुनी अधिकारका रूपमा पाउने भएका छन् । प्रदेशसभाको शुक्रबारको बैठकबाट ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८१’ सर्वसम्मतले पारित भएसँगै यो हक संवैधानिक अधिकारबाट कानुनी कार्यान्वयनतर्फ उन्मुख भएको हो । यो विधेयक गत माघ ९ गते प्रदेशसभामा पेस भएको थियो । 

‘यो विधेयकले धारामा पानी झार्ने मात्र होइन, नागरिकको स्वास्थ्य, सम्मान र जीवनस्तरसँग प्रत्यक्ष सरोकार राख्छ,’ खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले प्रदेशसभामा भने । उनले विधेयकमा खानेपानीलाई मानव अधिकारसँग गाँसिएर हेर्ने दृष्टिकोणलाई कानुनी रूप दिइएको बताए ।

नेपालको संविधानले खानेपानी र सरसफाइलाई मौलिक हकको रूपमा मान्यता दिएको छ । संघीय सरकारले यसअघि नै ‘खानेपानी तथा सरसफाइ ऐन, २०७९’ लागू गरिसकेको भए पनि प्रदेशस्तरको कार्यान्वयन, स्थानीय आवश्यकतालाई सम्बोधन र सेवा पहुँचको सघन व्यवस्थापनका लागि कोशीले यो छुट्टै विधेयक ल्याएको हो ।

विधेयकले अब खानेपानीलाई सेवा होइन, ‘अधिकार’ को रूपमा व्याख्या गरेको छ । यसको कार्यान्वयनका लागि प्रदेश सरकारले सेवा निर्माण, सञ्चालन, अनुगमन र गुणस्तर नियन्त्रणको जिम्मेवारी लिनेछ । सार्वजनिक–निजी साझेदारी (पीपीपी), उपभोक्ता समिति र निजी क्षेत्रसँगको सहकार्यमार्फत सेवा वितरण गर्न सकिनेछ ।

सेवा क्षेत्रमा रहेका आर्थिक रूपमा कमजोर कम्तीमा १० प्रतिशत घरधुरीलाई निःशुल्क धारो जडान गरिनेछ । दलित, एकल महिला, सीमान्तकृत र विपन्न समुदायलाई सेवा शुल्कमा छुट दिइनेछ ।

खानेपानी सेवा दर्ता नगरी सञ्चालन गर्नेलाई जरिवानाको व्यवस्था छ । त्यस्तै, गुणस्तरमा लापर्बाही गरे वा दूषित पानी आपूर्ति भएर स्वास्थ्यमा असर परे क्षतिपूर्ति तिर्नुपर्ने कानुनी प्रावधान गरिएको छ ।

सरकारले पानीको गुणस्तर परीक्षण र अनुगमनका लागि प्रयोगशाला स्थापना गर्ने उल्लेख विधेयकमा छ । साथै, बालमैत्री शौचालय, महिलामैत्री सरसफाइ केन्द्र र वातावरणमैत्री पूर्वाधार विकासमा जोड दिइएको छ ।

अब पानीका स्रोत, पाइपलाइन, ढल प्रणाली र शुद्धीकरण केन्द्रको विवरण एकीकृत डिजिटल नक्सामार्फत व्यवस्थित गरिनेछ । यसले दीर्घकालीन योजना बनाउन, आकस्मिक बिपद्मा काम गर्न र स्रोत परिचालनमा सहजता ल्याउने बताइएको छ । प्रदेशस्तरीय ११ सदस्यीय समन्वय समिति गठन गरी नीति र योजनामा एकरूपता ल्याइनेछ । जिल्लास्तरमा पनि समिति गठन गरेर स्थानीय तहहरूसंग सहकार्य गरिनेछ ।

उपभोक्ता समिति, समुदाय, निजी क्षेत्र र सरकारबीचको सहकार्यमार्फत पानी र सरसफाइ जस्ता मौलिक आवश्यकतालाई जनजीवनसँग जोड्ने प्रयास विधेयकले गरेको छ । ‘स्वास्थ्य, शिक्षा, रोजगारी जत्तिकै खानेपानी पनि मानव अधिकार हो भन्ने सन्देश दिन हामीले यो विधेयक ल्याएका हौं,’ मन्त्री कार्कीले भने ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully