खुकुरी प्रहार गरी भाइको हत्या, चालकले हाने सहचालकमाथि चक्कु

मादक पदार्थ सेवन गरेर चालकले आफ्नै गाडीका सहचालकलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।

श्रावण १७, २०८२

आनन्द गौतम

The brother was killed with a knife, the driver threw a knife at the co-driver

ताप्लेजुङ — ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-४ आहालेमा आफ्नै दाजुले भाइको हत्या गरेका छन् । २२ वर्षीय मनकुमार विश्वकर्माले २० वर्षीय भाइ रोशन विश्‍वकर्माको हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादको क्रममा दाजुले भाइलाई खुकुरी प्रहार गरेका थिए ।

वडाध्यक्ष अर्जुन लिम्बूका अनुसार उनले प्रहार गरेको खुकुरी भाइको पेटमा लागेपछि घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी निरीक्षक ओमप्रकाश पण्डितको नेतृत्वमा गएको टोलीले अभियुक्त मनकुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । खुकुरीसहित पक्राउ परेका उनीमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

यता, आठराई त्रिवेणी-३ घर भएका चालक हर्कबहादुर दर्लामी मगरले मादक पदार्थ सेवन गरी आफ्नै गाडीका सहचालकलाई चक्कु प्रहार गरी घाइते बनाएका छन् । मैवाखोला गाउपालिका-१ ढुङ्गेसाँघु बस्ने १९ वर्षीय सागर मगरलाई चक्कु प्रहार गरी घाइते बनाएको प्रहरी प्रमुख गौतमले जानकारी दिए ।

फुङलिङ नगरपालिका-४ तम्बु चोकमा गाडीमा बसिरहेको अवस्थामा टाउकामा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले घाइतेलाई सवारी धनी पेम्बा शेर्पाको जिम्मा लगाई उपचारका लगि जिल्ला अस्पताल पुर्‍याएको छ । चक्कु प्रहार गर्ने चालक हर्कबहादुरलाई भने नियन्त्रणमा लिएरअनुसन्धान भइरहेको गौतमले जानकारी दिए । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully