मेयर भट्टराई अस्पतालबाट डिस्चार्ज भएपछि फेरि अनशनमा

सरकार पक्ष र अनशनरत पक्षबीच केही विषयमा कुरा नमिलेपछि बिहीबार राति साढे ९ बजेसम्म भएको वार्ता निष्कर्षविहीन सकिएको थियो ।

श्रावण १६, २०८२

डम्बरसिं राई

After being discharged from the hospital, Mayor Bhattarai is again on hunger strike

What you should know

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले अस्पतालबाट डिस्चार्ज भएपछि फेरि माइतीघरमा अनशन सुरु गरेका छन् ।

अनशनकै क्रममा स्वास्थ्य स्थिति बिग्रिएपछि बुधबार राति अस्पताल भर्ना भएका भट्टराई शुक्रबार बिहान डिस्चार्जपछि फेरि अनशन बसेका हुन् ।

बाँसलाई विल्डिङ कोडमा समावेश गरी सरकारी मूल्यांकन गर्न मापदण्ड बनाई स्थानीय सामग्री प्रयोग गर्ने नीति निर्माण गर्नु पर्ने, बाँसको सदुपयोगबाट स्थानीयस्तरमा साना घरेलु उद्योग सञ्चालन गरी विदेश पलायन हुने युवाहरूलाई स्वरोजगार बनाई आयआर्जन गर्न सकिने भएकाले यसका लागि सरकारले नीति निर्माण र कार्यान्वयन गर्नु पर्ने, बाँसले भूक्षय नियन्त्रण, वातावरण संरक्षण, जलवायु प्रदूषण नियन्त्रण, पर्यावरणीय संरक्षण तथा अत्यधिक कार्बन सञ्चिति गर्ने भएकाले यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेलगायत विभिन्न माग राख्दै भट्टराई सत्याग्रह हुँदै आमरण अनशनसम्म पुगेका हुन् । साउन ११ देखि १३ गतेसम्म सत्याग्रह र त्यसपछि साउन १४ गतेदेखि आमरण अनशनमा छन् ।

सरकार पक्ष र अनशनरत पक्षबीच केही विषयमा कुरा नमिलेपछि बिहीबार राति साढे ९ बजेसम्म भएको वार्ता निष्कर्षविहीन सकिएको थियो । वार्ता टोलीका सदस्य तथा दिक्तेल रूपाकोट मझुवागढी नगारपालिकाका प्रवक्ता दिनेशकुमार घिमिरेका अनुसार अनशनरत पक्षले एक साताभित्र बाँसको मापदण्ड, दर रेट तथा बिल्डिङ कोड निर्धारण गर्नु पर्ने भन्ने अडान राखेकोमा सरकार पक्षले मिति नतोकी यथाशीघ्र निर्धारण गर्ने भन्नेमा मात्र जोड दिएको, बाँदरलाई बन्ध्याकरण गर्ने विषयमा दुवै पक्ष सहमत भए पनि सरकार पक्षले मिति तोक्न नमानेको, सिसा र प्लास्टिकजन्य वस्तुको १० प्रतिशत कर लिने व्यवस्था गर्नुपर्ने भन्ने अनशनरत पक्षको मागप्रति सरकार पक्षले नगरपालिका आफैंले कानुन बनाएर कर लिन पाउने व्यवस्था भएकाले यसमा संघले थप निर्णय गर्न नपर्ने भन्नेमा अडान लिएको घिमिरेले बताए ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully