मलेरिया र सेतो लामखुट्टेको जोखिम बढेकाले नगरले सुँगुर खोर हटाउन आदेश दिएको छ ।
ताप्लेजुङ — फुङलिङ नगरपालिकाले बजार क्षेत्रका सुँगुरका खोर हटाउन साउन २२ गतेसम्मको समय दिएको छ । नगरपालिकाले दोस्रोपटक सूचना प्रकाशित गरेर सुँगुरका खोर हटाउन र समयसीमाभित्र नहटाए नगरपालिकाबाट दिइने सेवासुविधा रोक्का गर्ने चेतावनीसमेत दिएको छ ।
सात दिनको समय दिएर साउन १५ गते आर्थिक वर्षको पहिलो सूचना गरेको नगरपालिकाले हटाउने निर्णय साउन ११ गतेको कार्यपालिका बैठकबाटै गरिएको पनि उल्लेख गरेको छ । नगरपालिका स्रोतका अनुसार आफैं हटाउन अनुरोध गर्ने, नहटाए सेवासुविधा रोक्का गर्ने त्यसले पनि नभए नगर प्रहरी परिचालन गर्ने तयारी छ । यो निर्णय गर्नुअघि नगरपालिका प्रमुख, उपप्रमुखलगायतले विद्युत्, टेलिकम, खानेपानीलगायतका कार्यालय प्रमुखलाई समेत बोलाएर छलफल गरेका थिए ।
यसअघि नगरपालिकाले साउन २ गतेभित्र बजार क्षेत्रका अव्यवस्थित सुँगुरका खोर हटाउन आह्वान गर्दै असार २७ गते सार्वजनिक सूचना जारी गरेको थियो । तर, पालिकाको सूचनाको अवज्ञा गर्दै बङ्गुर तथा सुँगुरपालक आन्दोलित भए । उनीहरूले नगरपालिकामै गएर नाराजुलुस गरे ।
बर्सातको समयमा मलेरियाको संक्रमण धेरै हुने र ताप्लेजुङमा पनि यसका संक्रमित देखिएकाले हटाउनु पर्ने कारण बजार क्षेत्रका सुँगुर बंगुरका खोर हटाउन पर्ने सूचनामा उल्लेख गरिएको छ । यसैगरी सेतो लामखुट्टेको संक्रमणसमेत हुने र वातावरण प्रदूषित हुने सूचनामा उल्लेख छ ।
