सिसुवाखोलामा ४५ मिटर लामो पक्की पुल सञ्चालनमा

४ करोड ६५ लाख रुपैयाँको लागतमा निर्माण भएको पुलले सिसुवा, वाला र ताम्कु क्षेत्रलाई खाँदबारी बजारसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

श्रावण १५, २०८२

दीपेन्द्र शाक्य

45 meter long concrete bridge in Sisuwakhola in operation

सङ्खुवासभा — सङ्खुवासभाको सिसुवाखोलामा ४५ मिटर लामो पक्की पुल बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । एक महिनाअघि निर्माण सम्पन्न भए पनि औपचारिक उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बिहीबार गरेका हुन् ।

४ करोड ६५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको पुलले सिसुवा, वाला र ताम्कु क्षेत्रलाई आपसमा मात्र होइन, खाँदबारी बजारसँग पनि जोड्नेछ । यसले दुर्गम गाउँहरूबाट आवतजावत सहज बनाउनुका साथै कृषि उत्पादन तथा सेवा प्रवाहमा समेत उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ ।

गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङका अनुसार, पुल निर्माणसँगै सिसुवाखोला पार गर्नुपर्ने जोखिमपूर्ण अवस्था अन्त्य भएको छ । 'स्थानीयहरूलाई अहिले सजिलै हिँडडुल गर्न सकिने अवस्था बनेको छ,' उनले भने, 'ग्रामीण पूर्वाधारको विकासले जनताको जीवनस्तर उकास्न सघाउ पुर्‍याउने छ । अब सिसुवा, ताम्कु, वाला जस्ता बस्तीका बासिन्दाले खाँदबारीसम्मको यात्रा सजिलोसँग गर्न सक्छन् ।'

२०७९ वैशाखमा अम्बर–कुन्सालिङ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । संघ, प्रदेश र गाउँपालिकाको बजेटमा गाउँपालिकाले ठेक्का खोलेको थियो । पुल निर्माण पछि सिलिचोङको १ सिसुवा र २ को बाला बुधबारे ताम्कु जोड्छ । 

दीपेन्द्र

Link copied successfully