फालेलुङको सासुटारमा बेलिब्रिज निर्माण सम्पन्न

कोशी प्रदेश सरकारको १ करोड ४० लाख लागतमा निर्मित बेलिब्रिजले स्थानीयको आवागमनलाई सहज बनाएको छ।

श्रावण १४, २०८२

लक्ष्मी गौतम

Construction of Beili Bridge completed in Sasutar, Phalelung

पाँचथर — पाँचथरको फालेलुङ गाउँपालिका वडा नं. ३ र ५ लाई सिमाना छुट्याएर बग्ने हेवांखोलास्थित सासुटारमा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ । यहाँ निर्मित पक्की पुल २०८० असार २ गते आएको बाढीले बगाएको थियो ।

पक्की पुल बगेपछि गाउँपालिका र स्थानीयको साझेदारीमा निर्माण गरिएको अस्थायी डाइभर्सनका भरमा रहेको यो खोलामा कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा बेलिब्रिज निर्माण गरिएको हो ।

बेलिब्रिज ४० मिटर लामो छ । यो बेलिब्रिज निर्माणका लागि कोशी प्रदेश सरकारले १ करोड ४० लाख ९ हजार ४ सय २० रुपैंयामा जिआर जेभी उदयपुरसँग ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख शैलेन्द्र सिंहले जानकारी दिए ।

यहाँ बेलिब्रिज नबन्दा फालेलुङ गाउँपालिका ५ र ६ नम्वर वडाका नागरिकलाई गाउँपालिका केन्द्र थकेपुङ जान समस्या थियो ।

यस्तै ५ नम्बर वडाका नागरिकलाई सदरमुकाम फिदिम आउनसमेत कठिन भइरहेको अवस्थामा यो बेलिब्रिजले केही राहत दिएको स्थानीय वडाध्यक्ष भरतकुमार खपाङ्गीले जानकारी दिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully