कोशीका सांसदहरूले भने : एआई त मान्छेभन्दा बढी दक्ष रहेछ ! 

सांसदहरू भन्छन् : ‘एआईको प्रयोगले हाम्रो समय पनि बच्ने रहेछ, काम पनि सहज हुने रहेछ  ।’

श्रावण ११, २०८२

कान्तिपुर संवाददाता

MPs from Koshi said: AI is more efficient than humans!

What you should know

विराटनगर — ‘हामी त यति वर्षदेखि भाषण लेख्न, स्टाटस बनाउन समय खर्चिरहेका थियौं, तर एआईले त क्षणभरमै मिठो भाषण तयार पारिदियो,’ कृत्रिम बुद्धिमत्ता (एआई) विषयक तालिममा सहभागी भएका कोशी प्रदेशका सांसदहरूको पहिलो प्रतिक्रिया यस्तै थियो । उनीहरूले थपे, ‘एआई त मान्छेभन्दा पनि बढी दक्ष पो रहेछ !’

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा मानव अधिकारका लागि स्रोत विकास मञ्च (रिडेफ) नेपालले आइतबार कोशीका महिला र सीमान्तकृत समुदायका सांसदहरूलाई एआईको दुनियाँसँग साक्षात्कार गरायो । ‘अबको युग एआईको हो,’  कांग्रेसकी प्रदेश सांसद मैया श्रेष्ठले तालिमको समापनपछि भनिन्,‘एआईको प्रयोगले हाम्रो समय पनि बच्ने रहेछ, काम पनि सहज हुने रहेछ  ।’ 

तालिमका सहभागीहरूलाई न त विज्ञानको जटिल फर्मुला सिकाइयो, न त कुनै रोबोट बनाउने उपाय । बरु, उनीहरूलाई सिकाइयो, एआईद्वारा भाषण लेख्ने कला, सामाजिक सञ्जालमा स्टाटस लेख्ने उपाय वा सदनमा फरक मत राख्न उपयोगी सामग्री बनाउने तौर तरिका । 

प्रदेशसभा उपसभामुख सिर्जना दनुवारले एआईसम्बन्धी तालिम प्रदेशसभाका ९३ जना सांसदहरूलाई  नै आवश्यक रहेको बताइन् । ‘यो नयाँ प्रविधि हो, सबैले सिक्दा फरक पर्दैन,’ उनले भनिन् । 

माओवादी केन्द्रका सांसदहरू गोम्वु शेर्पा, गयानन्द मण्डल, रामप्रसाद महतो, र एमालेकी सांसद मिना श्रेष्ठलगायतले दैनिक जीवनमा एआईको सहयोगबाटै काम गर्ने जनाए ।  सांसद मिना श्रेष्ठले भनिन्, ‘हामी धेरै काम हातले गर्दै थियौँ, तर अहिले प्रविधिले जीवन सजिलो बनाइदिएको छ । हरेक क्षेत्रमा एआईको प्रयोग अनिवार्यजस्तै हुँदैछ ।’ 

तालिममा सहभागीहरू एआईको शक्ति देखेर चकित मात्रै भएनन् । आफ्नै कार्यशैलीमै यसको उपयोग गर्ने संकल्प पनि गरे । ‘प्रविधिमा चासो राख्ने सबैका लागि यो एउटा सकारात्मक सन्देश हो’, आयोजक संस्थाका अध्यक्ष उमेश विश्वकर्माले भने,‘राजनीतिमा पनि अब कृत्रिम बुद्धिमत्ताको युग सुरु भएको छ ।’ तालिमको सहजीकरण डिजिटल मिडिया फाउन्डेसनका प्रवेश सुवेदीले गरेका थिए ।

कान्तिपुर

Link copied successfully