फलाम खोलामा काठको पुल

श्रावण ७, २०८२

कान्तिपुर संवाददाता

A wooden bridge over the iron river

पाँचथर — राष्ट्रिय युवा संघका पदाधिकारी र सदस्यहरुले जिल्लाको याङवरक गाउँपालिका वडा नम्बर २ र ३ को सिमानामा अवस्थित फलाम खोलामा काठ र बाँसको पुल निर्माण गरेका छन् ।

मध्यपहाडी राजमार्गमा पर्ने फलाम खोलामा निर्मित पक्की पुल २०८१ साल असार २ गतेको बाढीले बगाएको थियो । त्यसपछि पुल विहीन उक्त स्थानमा खोला बढ्नासाथ दुई पाङ्ग्रे सवारी साधनसँगै पैदल यात्रीलाई कष्ट हुँदै आएकाले मंगलबार युवा संघले यहाँ काठ र बाँसको प्रयोग गरेर झण्डै ९ मिटर लामो पुल निर्माण गरेको हो ।

नवनिर्मित पुलबाट पैदल यात्रीसँगै मोटरसाइकल र स्कुटर सहजै आउजाउ गर्न सक्छन् । राष्ट्रिय युवा संघ याङवरक गाउँपालिका कमिटिको आयोजना तथा वडा नम्वर २ कमिटीको व्यवस्थापनमा यहाँ पुल बनाइएको हो ।

A wooden bridge over the iron river

पुल निर्माणमा ७० जना युवाले श्रमदान गरेको संघका जिल्ला सह–सचिव इल्लु मेन्याङ्बोले जानकारी दिए । श्रमदानमा याङवरक गाउँपालिकाका अध्यक्ष सहित जनप्रतिनिधि समेत सहभागी थिए ।

यसअघि कांग्रेस निकट तरुण दलले पनि मध्य पहाडी राजमार्गकै ओयाम खोलामा काठ र बाँस प्रयोग गरेर अस्थायी पुल निर्माण गरेको थियो ।

कान्तिपुर

Link copied successfully