What you should know
खोटाङ — जिल्ला अस्पताल खोटाङलाई बिमा बोर्डले बिमाबापतको भुक्तानी नगर्दा औषधि खरिदमा समस्या भएको छ ।बोर्डले बिमाबापतको रकम भुक्तानी नगर्दा चालु आर्थिक वर्षका लागि औषधि खरिद गर्न नसक्दा बिमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा प्रवाहमा समस्या हुन पुगेको हो ।
जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रूपेश सङ्ग्रौलाका अनुसार आर्थिक वर्ष २०८१/८२ को बिमाबापतको ४ करोड २५ लाख ४४ हजार ६ सय ९४ मध्ये ३ करोड ४७ लाख ८५ हजार ६ सय ४९ रुपैयाँ भुक्तानी हुन बाँकी छ । ७७ लाख ५९ हजार ४५ रुपैयाँ भने पेस्कीबापत बिमा बोर्डले पठाएको सङ्ग्रौलाले बताए । भुक्तानी हुन बाँकी रकम उपलब्ध नहुँदा चालु आर्थिक वर्षका लागि बिमाबापतको औषधि खरिद गर्न नसक्ने अवस्था आएको हो ।
‘बिमाबापतको रकम नआउँदा अहिलेसम्म औषधि, एक्स–रे, ल्याब केमिकल उधारोमा चलाइएको छ,’ अस्पताल प्रमुख सङ्ग्रौलाले भने, ‘उधारोले कति दिन चलाउन सकिन्छ र ? अब त गाह्रो भइसक्यो ।’
जिल्ला अस्पतालमा अस्पताल व्यवस्थापन समितिले फार्मेसी सञ्चालन गरी सङ्घीय सरकारअन्तर्गत बिमा कार्यक्रमबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको सङ्ग्रौलाले बताएका छन् । यसअन्तर्गत २ सय ६१ प्रकारका औषधि वितरण गर्ने गरेको समेत उनले सुनाए ।
सङ्ग्रौलाका अनुसार अहिले ६० लाख बराबरको औषधि मात्र स्टक छ । उक्त औषधि करिब दुई–अढाइ महिना मात्र पुग्ने भएकाले त्यसपछिका लागि भने औषधि खरिद गर्ने रकम नहुँदा समस्या आइपरेको सङ्ग्रौलाको भनाइ छ । ‘अहिले ६० लाख बराबरको दुई–अढाइ महिनासम्म मात्र पुग्ने औषधि हामीसँग स्टक छ,’ सङ्ग्रौलाले भने, ‘त्यसपछि अरू औषधि खरिद गर्नका लागि पैसा छैन, अब भने बिमा कार्यक्रमअन्तर्गत स्वास्थ सेवा प्रवाह गर्न समस्या भयो ।’
