What you should know
पाँचथर — मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोला खण्डमा सोमबार पनि यातायातका साधन सञ्चालन हुन सकेनन् ।
यो राजमार्गको पाँचथर खण्डस्थित फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई सिमाना छुट्याएर बग्ने हेवा खोलाको अवरोध नहट्दा यो खण्डमा यातायात र ढुवानी साधन सञ्चालन हुन नसकेको हो ।
हेवा खोलामा शनिबार राति आएको बाढीले डाइभर्सनको तह पार गर्नुका साथै हृयुम पाइपमा ढुंगा र बालुवाले टालेपछि यो क्षेत्रको आवागमन प्रभावित भएको हो ।
खोलामा अवरोध भएपछि झापाबाट पाँचथर हुँदै ताप्लेजुङ तथा ताप्लेजुङसहित पाँचथरका हिलिहाङ याङवरक र फालेलुङको १ र २ नम्बर क्षेत्रबाट सदरमुकाम फिदिम हुँदै विभिन्न स्थानका लागि हिँडेका यात्रीले सास्ती खेप्नु परेको छ ।
ताप्लेजुङ तर्फबाट आएका यात्रु भारपा पुछारबाट भिरालो बाटो हिँड्दै झोलुङ्गे पुल तरेर उकालो ओरालो गर्दै डब्लु गोलाई आएर सवारी साधन चढेर गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् ।
यस्तै फिदिमबाट ताप्लेजुङतर्फ हिँडेका यात्री डब्लु गोलाईबाट पैदलमार्ग भएर भारपा पुछार पुगेपछि सवारी साधन चढेर आ–आफ्ना गन्तव्यतर्फ प्रश्थान गरिरहेका भेटिन्छन ।
यातायात सञ्चालन नहुँदा ज्येष्ठ नागरिक, सुत्केरी,गर्भवती र बिरामीलाई अत्याधिक मार परेको छ ।
सडक डिभिजन इलामले अवरुद्व सडक सोमबार दिउँसो खुलाउने भनेपनि खोलामा काम गरिरहेको एक्स्काभेटर बिग्रेका कारण प्रगति हुन नसकेको डिभिजनका कर्मचारी डम्बर मिश्रले जानकारी दिए । यस्तै, साँझपख पुनः बाटो खुलाउन काम थालेपछि बाढी आउँदा काम रोकिएको उनको भनाइ छ । दिउँसो एक पटक भने सवारी र ढुवानी साधन खोलाबाट बलजफ्ती वारपार गरेका थिए ।
