What you should know
उदयपुर — सवारी दुर्घटनामा परी उदयपुरमा एक जनाको ज्यान गएको छ ।
आइतबार कटारीबाट गाईघाट आउँदै गरेको बा. प्र. ०८–००१ ज ००७१ नम्बरको भ्यानको टायरले किच्दा त्रियुगा नगरपालिका–७ चुहाडेकी ७४ वर्षीया कोटिमाया दनुवारको ज्यान गएको हो ।
मदनभण्डारी लोकमार्ग अन्तर्गत त्रियुगा नगरपालिका–८ झोडामा सवारी रोकेर यात्रु ओराल्ने तथा चढाउने कार्य सकेर गाडी अगाडि बढाउने क्रममा टायरले किच्दा गम्भीर घाइते भएकी दनुवारको उपचारका लागि धरान लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपछि धरानस्थित बीपि स्वास्थ्य प्रतिष्ठान (घोपा) लैजाने क्रममा बिरामी सिकिस्त भएपछि पुनः जिल्ला अस्पताल उदयपुर फर्काइएकोमा अस्पतालले मृत घोषणा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीले बताए । भ्यानका चालक कटारी नगरपालिका–६ का ३८ वर्षीय घमाडे सार्कीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको उनले बताए ।
