पूर्वी नाकाबाट विदेशीहरूको अवैध प्रवेश, सुरक्षा निकाय बेखबर

भेष बदलेर तिब्बती, नक्कली आधार कार्ड देखाएर बर्मेली, भुटानी र बंगलादेशी नागरिक पनि सजिलै नेपाल प्रवेश गर्दै

श्रावण ३, २०८२

पर्वत पोर्तेल

Illegal entry of foreigners through eastern border, security agencies unaware

What you should know

विराटनगर — नेपाल-भारत खुला सिमानाले सहज आवागमनका साथै गम्भीर सुरक्षा चुनौतीसमेत निम्त्याइरहेको छ । विशेषतः पूर्वी नेपालका सीमावर्ती क्षेत्र हुँदै बंगलादेश, भुटान, बर्मा (म्यानमार) र तिब्बतबाट विदेशी नागरिकको अवैध प्रवेश निरन्तर भइरहेको पाइएको छ ।

गत चैत १३ गते अमेरिकाबाट 'डिपोर्ट' भएका १३ भुटानीमध्ये चारजना झापाको बेलडाँगी शरणार्थी शिविरमा अवैध रूपमा प्रवेश गरेका थिए । तीमध्ये तीनजना पानीट्यांकी नाकाबाट लुकीछिपी नेपाल छिरेका थिए भने चौथो व्यक्ति बाहुनडाँगी नाकाबाट प्रवेश गर्दा पक्राउ परेका थिए । 

अमेरिकाबाट डिपोर्ट भएका अरू धेरै शरणार्थी यही शैलीमा नेपाल प्रवेश गरिरहेका छन् । यसबारे स्थानीय सुरक्षा संयन्त्र बेखबर देखिएको छ । 

झापाको १४४ किलोमिटर लामो खुला सीमा भारतसँग जोडिएको छ । जहाँ न अवैध घुसपैठ नियन्त्रणको प्रभावकारी संयन्त्र छ, न त प्रविधियुक्त निगरानी प्रणाली ।

‘हाम्रा सुरक्षाकर्मीहरू भारतीय सुरक्षाकर्मीको भर परेर बस्छन्,’ स्थानीय बासिन्दा हरिप्रसाद कँडेल भन्छन्, ‘यो मामिलामा भारतीयहरू त गम्भीर देखिन्छन्, तर हाम्रातिर चाहिँ पैसा उठाउनै सक्रिय छन् ।’ 

नेपाल, भारत र बंगलादेशको सीमाको संगमस्थल  मानिने ‘सिलिगुडी कोरिडोर (चिनेक नेक) क्षेत्र अवैध घुसपैठका लागि प्रमुख र संवेदनशील क्षेत्र बनिरहेको छ । भेष बदलेर तिब्बतीहरू, नक्कली आधार कार्ड देखाएर बर्मेलीहरू, नेपाली जस्तो देखिने भुटानी र भारतीयजस्ता देखिने बंगलादेशी नागरिक सजिलै नेपाल प्रवेश गर्दै आएका छन् । भुटानीहरू त नेपालीजस्तै अनुहार र भाषा भएका कारण सजिलै छिर्न सक्ने अवस्था छ । 

भारतले नाका वारपार गर्न एकतर्फी ‘आईडी भेरिफिकेसन्स’ अनिवार्य गरेको छ । त्यसका बाबजुद विदेशीहरू वैकल्पिक बाटो प्रयोग गरेर नेपाल प्रवेश गरिरहेका छन् । बाहुनडाँगी, नकलबन्दा, सतीघट्टा लगायतका नाकाबाट उनीहरु प्रवेश गर्ने गरेको खुलेको छ ।  

खुला सीमाको फाइदा उठाउँदै विदेशी नागरिकलाई नेपाल प्रवेश गराउन सीमापारि र वारि दुवैतिर दलालहरू सक्रिय पाइएको छ । भुटानी युवाहरूलाई जनही १०/१० हजार भारु असुलेर नेपाल प्रवेश गराएको घटनाले त्यो पुष्टि हुन्छ । 

त्यस्तै, बंगलादेशीहरू मतदाता परिचयपत्र र नक्कली आधार कार्ड देखाएर भारतीय नागरिकको रुपमा नेपाल प्रवेश गर्दै आएका छन् । 

गत वर्ष भारतको खोरीबारी प्रहरीले नक्कली आधार कार्ड बनाउने कारखानामा  छापा मात्रै मारेन, गिरोहलाई नै पक्राउ गरेको थियो । त्यहाँबाट बरामद दस्ताबेजहरूले विदेशी नागरिकलाई अवैध रुपमा सीमा वारपार गराउन सञ्जाल सक्रिय रहेको पुष्टि हुन्छ । 

केही वर्षअघि काँकडभिट्टा नाकाबाट भिक्षुको भेषमा काठमाडौंतर्फ जाँदै गरेका चार तिब्बती पक्राउ पूर्वी नाकामै पक्राउ परेका थिए । बर्मेलीहरू पनि भारतीय कागजात देखाएर सजिलै नेपाल पस्ने गरेका छन् ।  अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराई भन्छन्, ‘कसैको भेष र भाषा हेरेर मात्र अवैध हो वा होइन भनेर छुट्याउन गाह्रो छ । विशेषगरी भारतीय बंगाली र बंगलादेशी छुट्याउन मुस्किल हुन्छ ।’ 

२०७८ सालमा पूर्वी नाका हुँदै काठमाडौ पुगेका १४ रोहिंग्या शरणार्थी काठमाडौंमा पक्राउ परेका थिए । 

वैकल्पिक बाटो रोज्दै बंगलादेशी

मुम्बई बम विस्फोटपछि भारतले ट्रान्जिट भिसामा बंगलादेशीलाई कडाइ गरेको थियो । कोरोना महामारीपछि थप कडाई गर्‍यो । बंगलादेशमा विकसित पछिल्लो राजनीतिक बदलावपछि बंगलादेशीहरु अवैध रुपमा भारत हुदै नेपाल छिर्ने क्रम ह्वात्तै बढेको छ । 

उनीहरु वैकल्पिक बाटोबाट नेपाल प्रवेश गर्न थालेका हुन् । भारतीय प्रहरी स्रोतका अनुसार उनीहरू भारतमा अवैध रूपमा छिरेपछि नेपाल प्रवेश गर्छन् ।

Illegal entry of foreigners through eastern border, security agencies unaware

करिब ६ महिनाअगाडि इस्लामपुर नजिक भारत–बंगलादेश सीमाबाट पाँचजना बंगलादेशी समातिए भने त्यसअघि पानीट्यांकी नाकाबाट दर्जनौं पक्राउ परेका थिए । उनीहरू नेपाल प्रवेशपछि नक्कली कागजका भरमा नेपाली नागरिकता लिएर गैरकानुनी काममा संलग्न हुने र अन्ततः तेस्रो देश उड्ने गरेको पाइएको छ । 

सोमबार मात्रै भारत हुँदै नेपाल प्रवेश गर्न लागेका दुई बंगलादेशी पक्राउ परे । ३२ वर्षीय परितोष चन्द्र राय र सुकुमार चन्द्र सिललाई भारतीय अर्ध सैनिक बलले नेपाल–भारत सीमा नाकाबाट नियन्त्रणमा लिएको हो । ‘नेपाल छिर्न खोज्ने बंगलादेशी त हरेक महिना पक्राउ पर्छन्,’ एक भारतीय सुरक्षा अधिकारीले भने, ‘सीमामा हामीले गरेका कडाइका कारण नेपाल प्रवेश गर्ने योजना विफल हुँदै आएको छ ।’ 

भारततिर सुरक्षाकर्मीसँग विशेष सुरक्षा दस्तासँगै अत्याधुनिक स्रोतसाधन छन् । नेपालतिर अनुहार हेरेर, गोजी छामेर सुरक्षा जाँच गरिन्छ । यस्तो अन्तर्राष्ट्रिय नाकामा न एक्स रे मेसिन छ, न त मेटल डिटेक्टर । 

झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीका अनुसार नाकामा सामान्य सतर्कता भए पनि अनेक हत्कण्डा अपनाउनेहरूको अगाडि त्यो पर्याप्त छैन । ‘पछिल्लो घटनाले सतर्कता अझ कडा गर्नुपर्ने देखिएको छ,’ उनी भन्छन् । 

अवैध घुसपैठको यो क्रमले नेपाललाई मात्र होइन, समग्र दक्षिण एसियाली सुरक्षालाई नै चुनौती थपिइरहेको विज्ञहरुको भनाइ छ । सीमामा प्रविधियुक्त निगरानी, सुरक्षाकर्मीको जवाफदेही र कूटनीतिक संयन्त्रको समन्वयबिना यसको नियन्त्रण सम्भव देखिँदैन ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully