What you should know
धनकुटा — धनकुटा र तेह्रथुम जिल्लाको संगमस्थल चित्रेमा सुक्रवारदेखि राँके मेला सुरु भएको छ ।
धनकुटाको महालक्ष्मी र तेह्रथुमको लालीगुराँस नगरपालिकाको संगममा रहेको उक्त मेला पूर्वकै पुरानो मध्येको एक हो ।
विगतमा एक सातासम्म लाग्ने मेला पछिल्लो समय भने हरेक साउन महिनाको २ गते भोलिपल्ट समापन हुने गर्दछ । मेलामा विभिन्न समुदायको मौलिक भेषभूषा लगाएर सहभागी हुने गर्छन् । यस्तै, लिम्बू जातिको परम्परागत धान नाच नाचिने गरिन्छ । उक्त स्थानमा राँके मेला करिब दुई सय वर्ष पहिलेदेखि लाग्दै आएको स्थानीयले बताए ।
मेला भर्न पूर्वका धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, संखुवासभा, भोजपुर जिल्ला साथै छिमेकी मुलुक भारतको बिहार लगायतबाट समेत आउने गर्दछन् । मेलामा कृषि, साना उद्योगबाट उत्पादित सामग्री अत्यधिक बिक्री हुने स्थानीय निशा थापाले बताइन् । अधिकांश युवायुवती सहभागी हुने गरेको उनी बताउँछिन् । मेलामा विभिन्न राष्ट्रिय कलाकारहरुको सांगितिक प्रस्तुति समेत हुने गर्दछ ।
