What you should know
ताप्लेजुङ — माथिल्लो तमोर जलविद्युत् आयोजना निर्माण तत्काल रोक्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । प्रभावित क्षेत्रका बासिन्दाले संघर्ष समिति बनाएर शुक्रबार निर्माणस्थलमा प्रदर्शन गरेका हुन् ।
याक्थुङ (लिम्बू) समुदायको मुन्धुमस्थल भएकाले आयोजना नबनाउन माग गर्दै उनीहरुले यसअघि निर्माण कम्पनी र प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । जबरजस्ती आयोजना निर्माण गर्न सुरु गरिएको भन्दै प्रभावित क्षेत्रका बासिन्दा शुक्रबारदेखि प्रदर्शनमा उत्रिएका हुन् ।
प्रभावित क्षेत्रका बासिन्दाले अपर तमोर हाइड्रोपावर प्रभावित संघर्ष समिति गठन गरेका छन् । ‘निर्माण सुरु नहुँदैदेखि हामीले सरोकारवाला स्थानीय निकायसहित सघीय सरकारको ध्यानाकर्षण गराएका हौं,’ उनले भने, ‘आयोजनाले अब जबरजस्ती गरेपछि आन्दोलित हुनुको विकल्प भएन ।’
मुन्धुम स्थलको अस्तित्वमाथि क्षति पुर्याउने काम भएको संघर्ष समितिका अर्का सदस्य श्रीप्रसाद लिंखिम बताउँछन् । ‘हामीले सबै ठाउँमा काम अगाडि नवढाउनुहोस् भनेर अनुनयविनय गर्यौं, ज्ञापनपत्र, ध्यानाकर्षणपत्र बुझायौं तर सशस्त्र प्रहरी राखेर जबरजस्ती गरिएपछि आन्दोलनमा उत्रन बाध्य बनाइयो,’ लिंखिमले भने ।
शुक्राबार विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै लिंखिमले अहिलेसम्म पाँच पटक निर्माण स्थलमै आएर विरोध जनाउँदा पनि नभएपछि अब हामी सशक्त आन्दोलन गर्छौं । उनले स्थानीयलाई दमन गरेर आयोजना बन्न नसक्ने ठोकुवा गरे ।
अब पनि निर्माणको कामलाई निरन्तरता दिए हालसम्मको शान्तिपूर्ण आन्दोलनको स्वरूप परिवर्तन हुने उनले चेतावनी दिए । यसबाट हुने क्षतिको जिम्मेवारी आयोजना र सरकारले लिनुपर्ने उनको दावी छ ।
उनले लिम्बू समुदायको चिहानहरु नष्ट गरेको, मुन्धुमीस्थल अतिक्रमण गरेको आरोप पनि लगाए । याक्थुङ समुदायको मुन्धुम क्षेत्र भएकाले समुदायको सहमतिबिना यस्ता आयोजना बनाउन नहुने तर्क उनको छ । मौलिक सभ्यता र संस्कृति मासिने भएकाले मुन्धुम स्थलको संरक्षणका लागि आफूहरू आन्दोलित हुनुपरेको अध्यक्ष बिरबलको दाबी छ ।
फक्ताङ्लुङ गाउँपालिका-३ लिंखिमको सिस्नेमा प्रदर्शन भएको हो । तमोर नदीबाट तमोर इनर्जी प्रालिले २ सय ८५ मेगावाट विद्युत् उत्पादनको अनुमति लिएर काम अघि बढाएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयमा समेत पटक/पटक छलफल भएको थियो । सहमति नभएपछि निर्माणस्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
