What you should know
धनकुटा — राजस्व छल्ने उद्देश्यले धनकुटाको छथर जोरपाटी गाउँपालिका-४ वडा कार्यालयको लेटरप्याड, छाप र वडाध्यक्षको हस्ताक्षर किर्ते गरिएको छ ।
घरबाटो प्रमाणितका लागि वडा कार्यालयले सिफारिस बनाउने लिखतमा नक्कली सिफारिसपत्र बनाएको पाइएको हो । घरबाटो प्रमाणित सिफारिसमा वडाको नक्कली लेटरप्याड, छाप र वडाध्यक्षको हस्ताक्षरसमेत नक्कल गरिएको मालपोत कार्यालय स्रोतले जनाएको छ ।
वडा कार्यालयको लेडरप्याडमा फरक देखिएकाले शंका लागेर सम्बन्धित वडाका अध्यक्षलाई मालपोतबाट जानकारी लिने क्रममा उक्त रहस्य खुलेको मालपोत कार्यालयका सूचना अधिकारी मकरबहादुर तामाङले जानकारी दिए ।उनका अनुसार साबिक तेलिया गाविस-१, अन्तर्गत शम्भु राम प्रजाप्रतिका नाममा रहेको साबिक तेलिया–१ को कित्ता नम्बर १० को १७ रोपनी ३ आना र कित्ता नम्बर ४ स्थित ३१ रोपनी ७ आना २ पैसा क्षेत्रफल रहेको जग्गाको किर्ते सिफारिस गरिएको हो ।
धनकुटाको बिहीबारे हटिया–कर्मीटार–बञ्चरे–लामिछाने–तेलिया–तेह्रथुम शुक्रबारे पक्की सडक र कच्ची घर भएको साथै सडकको सेट ब्याकबाहेक ६ (छ) मिटर चौडा कायम रहेको भनी प्रमाणित गरी आफूले सिफारिस दिएको उनले बताए । स्थानीय मेघराज खतिवडाले उक्त वडाको लेटरप्याड, छाप र वडाध्यक्षको हस्ताक्षर किर्ते गरेको वडाध्यक्ष टेकबहादुरक तामाङको दाबी छ ।
कांग्रेस नेता समेत रहेका खतिवडाले घरबाटो प्रमाणितमा जग्गामा बाटो नभएको र घर नभएको भन्ने व्यहोराको नक्कली सिफारिसपत्र बनाएको जनाइएको छ । जग्गा पास गर्नका लागि वडाबाट सिफारिस चाहिन्छ । वडाको वास्तविक व्यहोरा लुकाएर बाटो नभएको जग्गा उल्लेख गरेर राजस्व छल्ने नियत रहेको मालपोत कार्यालयका सूचना अधिकारी तामाङ बताउँछन् ।
वडाध्यक्ष तामाङले वडा कार्यालयमा स्रेस्ता दर्ता कायम रहेको जग्गाको घरबाटो विवरणअनुसार गत असार २४ गते आफूले प्रमाणित गरेर सिफारिस दिएको बताए । ‘वडाको लेटरप्याड, छाप र मेरो हस्ताक्षर समेत नक्कली गरी नक्कल सिफारिस बनाएको पाइयो,’ उनले भने, 'मालपोत कार्यालयबाट कागजपत्र किर्ते गरिएको आशंका रहेको भन्दै फोन आएपछि त्यसबारे बुझ्दा संलग्न व्यक्तिबारे थाहा पाइएको हो ।’
असार ३१ गते मालपोत कार्यालय धनकुटाले वडाध्यक्ष तामाङलाई सम्पर्क गरेर घटनाबारे जानकारी गराएको थियो । संलग्न व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने वडाध्यक्ष तामाङले बताए ।
खतिवडाले भने आफूमाथिको आरोप निराधार रहेको बताएका छन् । ‘प्रतिशोध साध्न मलाई आरोप लगाइएको हो ।’ उनले आफ्नो संलग्नता भए प्रमाण पुर्याउन चुनौती दिए ।
