पाथीभरामा घटे तीर्थयात्री, तीन करोड ११ लाख रुपैयाँ भेटी संकलन

श्रावण १, २०८२

आनन्द गौतम

Pilgrims descended on Pathibhara, collection of Rs 3 crore 11 lakhs

ताप्लेजुङ — आर्थिक वर्ष २०८१/०८२ मा पाथीभरामा तीन करोड ११ लाख ६४ हजार रुपैयाँ भेटी रकम संकलन भएको छ। यो वर्ष दुई लाख १७  हजार आठ सय ७६ जनाले पाथीभरा दर्शन गरेका छन्। भेटी रकम र तीर्थयात्रीको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा भने कम हो।

आर्थिक वर्ष २०८०/०८१ मा तीन करोड ९८ लाख ४१ हजार नौ सय ५८ रुपैयाँ भेटी संकलन भएको थियो । तीर्थयात्रीको सङ्ख्या दुई लाख ३१ हजा तीन सय ३४ रहेको थियो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा ८६ लाख ७७ हजार दुई सय ८२ रुपैयाँ कम उठेको छ ।

तीर्थयात्रीको सङ्ख्यामा १३ हजार चार सय ५८ जना कमी देखिएको हो । यो आर्थिक वर्षमा सबैभन्दा बढी कार्तिक महिनामा ६१ हजार एक सय ७३ र सबैभन्दा कम साउन महिनामा १९ सय ५५ जना तीर्थयात्री आएको सूचना अधिकारी सन्तोष पुर्कोटीले जानकारी दिए ।

भेटी रकम भने सबैभन्दा बढी बैशाख महिनामा ६० लाख ९० हजार आठ सय १५ र कम असोज महिनामा चारलाख ११ हजार एक सय ५१ रुपैयाँ जम्मा भएको छ । आर्थिक वर्ष सकिएकै दिन क्षेत्र विकास समितिले वार्षिक तथ्यांक सार्वजनिक गरेको हो।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully