ताप्लेजुङ — आज साउन १ गते अर्थात् साउने संक्रान्तिको दिन किराँत समुदायले ’सिसेक्पा तङ्नाम’ पर्व मनाउँदैछन्। आफ्नो इष्ट देवको सम्मानमा नयाँ पाकेका फलफूलहरू चढाउने र डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने प्रचलन रही आएको किराँत धर्म तथा साहित्य उत्थान संघ ताप्लेजुङका अध्यक्ष कर्णबहादुर पालुङवाले बताए।
‘अहिले हाइब्रिड जातबाट बर्सैभरि मकै फलाइन्छ। तर पहिला ठुलो मानव बस्ती भएको ठाउँमा असार/साउन महिनामा मात्रै मकै पाक्थ्यो, चैते धान भित्र्याउने समय पनि यही बेला हुन्थ्यो,’ पालुङवाले भने, ‘त्यो पाकेको अन्न भगवानलाई चढाएर खाने चलन थियो। र अहिले पनि त्यो चलन छ।त्यही पर्वलाई हाम्रो समुदायले विशेष रूपले आजको दिनमा मनाएँदै आएको छ।'
यो पर्व किराँत समुदायमा मानव सभ्यता प्रारम्भ भए देखिनै रहिआएको पाइएको किंवदन्ती र धार्मिक, जनश्रुतीपनि त्यस्तै रहेको पालुङ्वा बताउँछन्।
पाकेको अन्न ईश्वरलाई चढाएर, बक्साएर मात्रै मान्छेले खायो भने ईश्वरबाट वरदान सुख शान्ति पाइन्छ भन्ने मान्यता रहेको पालुङवाले बताए । साउन १ देखि १५ गतेसम्म ईश्वर गुप्तवास बस्छन् यति वेला भगवानको मन्दिरमा गएर होहल्ला गर्नुहुँदैन, शंख घण्ट बजाउनुहुँदैन भन्ने मान्यता भएकाले असारकै दिनमा पनि यसरी अन्नबाली चढाउने गरेको किराँत धर्मगुरु इन्द्रहाङ पालुङवाको कथन छ ।
किराँत समुदायमा फेदाङ्वा विधि र किरात लिपि दुवैको प्रयोग हुँदै आएको छ । दुई तीन दशक अघिसम्म आफ्नै उब्जनी मात्रै खान पाइने र आफ्नै उब्जनी खाने समय कुर्नुपर्ने भएकाले अहिलेको तुलनामा त्यस वेला यस्ता संस्कार संस्कृतिको विशेष महत्त्व रहेको पालुङ्वा बत्ताउँछन् । तर परम्परा भने गाउँघरमा अहिले पनि हराइ नसकेको उनीहरूले बताए ।
ज्योतिष शास्त्रअनुसार सौर तिथिको हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायन हुने हुनाले यसलाई ’कर्कट संक्रान्ति’ पनि भनिन्छ । सामान्यतया सूर्यले सबै राशीलाई प्रभावित गरे तापनि सूर्यको कर्कट राशी (साउने संक्रान्ति) र मकर राशी (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । आजको दिनदेखि सूर्य उत्तरी गोलार्द्धबाट दक्षिणी गोलार्द्धतर्फ प्रवेश गर्ने भएकोले दिन छोटो र रात लामो हुँदै जाने विश्वास रहेको छ ।
कृषिप्रधान देशमा ’मानो खाई मुरी उब्जाउने’ कथन अनुसार जेठदेखि असार महिनाभर गरेको खेतीपातीको कामबाट थाकेका किसानले हिलो मैलो पखाल्ने र घरपरिवार र आफन्तजन बसेर मिठो मसिनो खाएर एकापसमा सद्भाव बाँड्ने पर्वको रुपमापनि यसलाई लिइन्छ ।
गाउँघरमा कुरिलो, काग भलायो, पानीसरो, पुरेनी, लगायतका औषधीय वनस्पतिहरू बालेर बेलुका आँगनबाट चारै दिशामा अगुल्टोबाट लुतो फाल्ने प्रचालनपनि छ । यस्तो वेला नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र केही छिन घरको ढोका बन्द गर्ने चलन पनि रहेको फुङलिङ ८ मा मेदिनी प्रसाद पौडेल बताउँछन्।
