दिक्तेलमा पूर्वाधार विकास कार्यालय स्थापना

श्रावण १, २०८२

डम्बरसिं राई

Establishment of Infrastructure Development Office at Diktel

What you should know

खोटाङ — दिक्तेलको हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बिहीबार उद्घाटन गरेका हुन् ।

पूर्वाधार विकास कार्यालय उद्घाटनपछि ओखलढुंगा र उदयपुर पुग्नु पर्ने बाध्यता हटेको छ ।

सडक, भवन लगायतका भौतिक पूर्वाधारका संरचना निर्माणका लागि शहरी विकास तथा भवन कार्यालय ओखलढुंगा, पूर्वाधार विकास कार्यालय उदयपुर पुग्नुपर्ने बाध्यता थियो । यी दुवै कार्यालय (शहरी विकास तथा भवन कार्यालय र पूर्वाधार विकास कार्यालय)को काम गर्ने गरी दिक्तेलमा कार्यालय स्थापना गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिव अशोककुमार साहले बताएका छन् । 

कार्यालय उद्घाटन गर्ने क्रममा भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री राईले जनताले जिताएर पठाएको प्रतिनिधि भएकाले जनताको चाहना अनुरुपको काम गरिरहेको बताएका छन् । सबै राजनीतिक दलका साथीहरूले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने खोटाङलाई माथि लान धेरै समय नलाग्ने मन्त्री राईको भनाइ छ । ‘तपाईंहरूले नै जिताएर पठाउनु भएको हो, जे गर्न पठाउनुभएको हो त्यही गरिरहेको छु,’ उनले भने, ‘विकास निर्माण, खोटाङको समस्या बुलन्द रूपमा उठाउनु उठाइरहेको छु, सदनमा पनि, क्याबिनेटमा पनि उठाइरहेको छु ।’ 

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully