कोशी प्रदेशका दुई उपमहानगर इटहरी र धरानमा आजबाट बजेट शून्यता

श्रावण १, २०८२

अर्जुन सुवेदी

Budget void from today in two sub-metropolitan cities of Koshi province, Itahari and Dharan

सुनसरी — कोशी प्रदेशका दुई उपमहानगरपालिका इटहरी र धरानमा आजबाट बजेट शून्यता आएको छ । नगरसभाबाट आगामी आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजित बजेट पारित हुन नसक्दा यी दुई उपमहानगरपालिकामा बजेट शून्यताको अवस्था सिर्जना भएको हो ।

धरान उपमहानगरकाका प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइन्द्रबिक्रम बेघा बीचको मतभेदले आर्थिक वर्ष २०८२/८३ को बजेट पारित हुन नसक्दा उपमहानगर बजेट शून्यताको अवस्थामा पुगेको हो । अघिल्लो वर्ष पनि नगरप्रमुख हर्क साम्पाङ र वडाध्यक्षहरुबीचको विवादले निर्धारित समयमा बजेट पेस गर्न नसकेको धरान उपमहानगर यसवर्ष पनि किचलोमा फसेको छ । 

नगरप्रमुख र उपप्रमुखसहितका वडाअध्यक्षहरुको टकराव र आन्तरिक विवादका कारण पूर्वी नेपालको महत्त्वपूर्ण स्थानीय तह धरानमा बजेट प्रक्रिया ठप्प हुँदा नगरवासी चिन्तित बनेका छन् । धरानमा समयमै बजेट आउन नसक्नुको एउटा कारण श्रमदानको विषयमा उत्पन्न विवाद हो । 

असार २ र ३ गते श्रमदानको विषयलाई लिएर नगरप्रमुख र उपप्रमुखबीच उत्पन्न विवादले झडप नै भएको थियो । बजेट बनाउने अन्तिम समयसम्म उक्त विवाद नसुल्झिदा यसको प्रभाव बजेट निर्माण प्रक्रियामा परेको हो । उपप्रमुख सहित २८ जना कार्यपालिका सदस्यले कानुनी प्रक्रिया र आवश्यक तयारी पूरा नगरी कार्यपालिका बैठक बस्नुको औचित्य नहुने भन्दै पत्र बुझाएपछि नगरप्रमुख साम्पाङ बैठक स्थगित गरेका थिए । 

बैठक बस्न नसक्दा धरान उपमहानगरले असार १० गते बजेट प्रस्तुत गर्न सकेको थिएन । त्यसयता पटक पटक प्रयास गरे पनि बजेट निर्माणको कामले पूर्णता नपाउँदा शून्यताको अवस्थामा पुगेको हो ।

यस्तै इटहरी उपमहानगरपालिका पनि बजेट शून्यताको अवस्थामा पुगेको छ । असार १० गते उपमहानगरपालिकाका तर्फबाट उपप्रमुख संगीता कुमारी चौधरीले प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेट पारित नहुँदा होलीडेको अवस्थामा पुगेको हो । 

स्थानीय सरकार सञ्चालन ऐनमा १० असारमा प्रस्तुत भएको नीति, कार्यक्रम र बजेट १५ दिन अर्थात असार २५ गतेसम्म दफाबार छलफल गरी पास गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । तर, बजेट पास गर्ने विषयमा पटक–पटक नगरसभा बोलाउँदै स्थगित गरेको उपमहानगरले बुधबार बोलाइएको नगरसभाको बैठक स्थगित भएकाले इटहरी बजेट होलीडेको अवस्थामा पुगेको हो । 

इटहरी उपमहानगरपालिका नगरप्रमुख हेमकर्ण पौडेलले अनुसूची बिनाको बजेट पास गर्न खोजेपछि उपप्रमुख चौधरीले असहमति जनाएपछि बुधबारको नगरसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो । उपप्रमुख चौधरीले अनुसूची बिनाको बजेट निर्णयका लागि नगरसभामा पेश गर्न नसकिने जानकारी दिएपछि नगरसभा प्रमुखका रुपमा उपस्थिति मेयर पौडेलले इटहरीवासीको भाग्य र भविष्यमाथि राजनीति गर्न नहुने जनाउँदै सहमतिका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नगरसभा स्थगित गरेका थिए ।

अर्जुन सुवेदी

Link copied successfully