विराटनगर — मोरङको लेटाङ नगरपालिका वडा नं. २ स्थित पैँतीस बिघे टोलमा बसोबास गर्ने दलित समुदायकी अगुवा तथा वडाको न्यायिक समितिकी सदस्य ७६ वर्षीया गंगामाया विश्वकर्मामाथि एक व्यक्तिले सांघातिक हमला गरेका छन् ।
फलामको रडले टाउकोमा पटक–पटक प्रहार गरिँदा सख्त घाइते भएकी गंगामाया विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत छिन् ।
सामान्य विषयमा विवादबाट सुरु भएको भनिएको यो घटना गम्भीर आपराधिक हमलामा रूपान्तरण भएको थियो । गंगामायामाथि सोही टोलका अग्नि नेपालले जातीय पूर्वाग्रहयुक्त अपमानजनक व्यवहार गर्दै विवादको सुरुवात गरेका थिए ।
गाउँमा ट्र्याक्टरबाट जमिन जोत्दै हिँड्ने नेपालले गंगामायालाई पनि जमिन जोत्न प्रस्ताव गरेका थिए । तर, आफ्नो जमिनै छैन नजोत्ने भनेपछि उनी रिसाउँदै ‘पैसा माग्न जाँदा तिमीहरूले बलात्कारको मुद्दा लगाएर जेल पठाउँछौ, अब हलो जोत्नु परे हलोको टुप्पोमा पैसा राखेर मात्रै जोतिन्छ’ जस्ता कटु वचन बोलेका थिए ।
‘अरू त ठिकै हो तर बलात्कारको मुद्दा लगाएर जेल पठाउँछौ भनेपछि चाहिँ मलाई चित्तै बुझेन’, उपचाररत गंगामायाले भनिन्,‘वडाध्यक्षदेखि उपप्रमुख सम्मलाई यो आरोपबारे जानकारी गराएकी थिएँ ।’
तर उक्त घटना केही दिनमै ज्यान मार्ने प्रयासमा परिणत भएको थियो । गत असार १४ गते बिहान करिब १० बजे अग्नि नेपाल हातमा फलामे रड बोकेर गंगामायाको घर गएका थिए । गंगामायाले हातको रड देखिनन् । ‘दिदी म आउन सक्छु ?’ भन्दै घरमै पुगेका उनले गंगामायाले सामान्य व्यवहार गर्दै पिरा निकाल्दै गर्दा फलामको रडले टाउको र हातमा पटक–पटक प्रहार गरेका थिए । घरमा उनी र ८० वर्ष नाघेका श्रीमान् मात्रै थिए । ‘मार्यो मार्यो’ भन्दै चिच्याएपछि एक बटुवाले थाहा पाएपछि आक्रमणकारी भागेका थिए ।
सिकुवामा रगताम्य लडेकी उनलाई स्थानीयले उद्धार गरी अस्पताल पठाएका थिए ।
आक्रमणकारीलाई प्रहरी चौकी लेटाङले पक्राउ गरेको थियो । उनी अहिले पनि हिरासतमै छन् । घटनापछि विराटनगरको आर्या न्युरो अस्पतालमा उपचाररत गंगामायाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । १० दिन सघन उपचार पछि उनलाई अहिले वार्डमा सारिएको छ ।
तर पीडक पक्षले अस्पताल खर्च बेहोर्न आलटाल गरिरहेको पीडित पक्षको गुनासो छ ।
पीडितका छोरा फडिन्द्र विकका अनुसार अभियुक्तका भाइ खगेन्द्र नेपालले सबै उपचार खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका थिए । तर, अहिलेसम्म अढाई लाख मात्रै दिएको बताए । ‘उपचार खर्च १० लाख बढी नाघिसकेको छ’, उनले भने,‘अस्पतालमै बन्धक हुने अवस्था छ ।’
यसैबीच मुक्ति समाज नेपाल, कोशी प्रदेश कमिटीले विज्ञप्ति जारी गरी घटनालाई दलित समुदायमाथिको सुनियोजित आक्रमणको पराकाष्ठा भन्दै भर्त्सना गरेको छ । संस्थाका अध्यक्ष उमेश विश्वकर्मा र सचिव कृष्ण रुचालले संयुक्त रूपमा बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गंगामायामाथिको हमला केवल व्यक्ति विशेषमाथिको हिंसा होइन, यो सम्पूर्ण उत्पीडित समुदायमाथिको हमला हो । यदि पीडितको उपचारमा ढिलासुस्ती र कानुनी प्रक्रिया अवरुद्ध भयो भने हामी कडा आन्दोलनमा जान बाध्य हुनेछौँ ।’
