कञ्चनजंघा साउथ बेसक्याम्प जाने सिम्बुवा खोलाको झोलुंगे पुल बाढीले बगायो

असार ३०, २०८२

आनन्द गौतम

The suspension bridge of the Simbuwa River leading to Kanchenjunga South Basecamp was swept away by the flood

ताप्लेजुङ — विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको साउथ बेसक्याम्प जाने मार्गमा पर्ने सिम्बुवा खोलाको पुल बाढीले बगाएको छ । तोरोङदिन भन्ने स्थानमा रहेको पुल बगाएको सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिनका वडाध्यक्ष कृष्ण गुरुङले बताए ।

गुरुङका अनुसार यहाँको पुल बस्नु अघि तत्कालीन जिल्ला विकास समिति अन्तर्गत रहेको दुर्गम विकास समितिले बनाएको थियो ।

असार २८ गते रातिको बाढीले बगाएको अनुमान गरिएको गुरुङले बताएका छन् । पुल नहुँदा तत्कालका लागि साउथ बेसक्याम्प जान पूर्णरूपमा ठप्प भएको छ । याम्फुदिनबाट नयाँ झोरेनी, झण्डे डाँडा, दुन्दु डाँडा, तोरोङदिन हुँदै आधारशिविर पुगिन्छ । यो मार्ग भएर भदौदेखि मंसिरसम्म स्वदेशी तथा विदेशी पर्यटक ट्रेकिङ जाने गर्छन् ।

‘खोलो घटेर तर्न सक्ने भएपछि बल्ल जान सकिने हो,’ गुरुङले भने, ‘बर्खाको खोलो अहिले त घट्ने अवस्था हुँदैन ।’ औली क्षेत्रमा पानीको अभाव भइरहँदा हिमाली क्षेत्रमा बाढी आउने र क्षति गर्ने क्रम तीव्र छ । ‘हिमालमा कति बेला पानी पर्छ र बाढी आउँछ पत्तो हुँदैन,’ गुरुङले थपे, ‘खोलाहरू ह्वात्तै बढेपछि बल्ल थाहा हुन्छ ।’

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully