फुङफुङे झरना पर्यटन महोत्सवमा सात लाख रुपैयाँ नाफा

असार ३०, २०८२

आनन्द गौतम

Seven lakh rupees profit in Phungfunge waterfall tourism festival

ताप्लेजुङ — यहाँको पर्यटकीय गन्तब्यस्थल फुङफुङे झरनाको प्रचार प्रसार गर्ने उद्देश्यले आयोजित फुङफुङे झरना पर्यटन महोत्सवमा आयोजकले सात लाख रुपैयाँ आर्जन गरेका छन् ।

मेला, महोत्सव आयोजकले हरेक वर्षजसो घाटाको विवरण प्रस्तुत गरिरहँदा यसका आयोजकले भने नगद मौज्दात रहेको र सामान पनि खरिद गरिएको जनाएका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सवमा २५ लाख ५० हजार रुपैंया संकलन भएको थियो । मिक्वाखोला गाउँपालिकाले १० लाख स्वदेशी तथा विदेशीले १४ लाख दिएका थिए भने महोत्सवको स्टलाट १ लाख ५० हजार रुपैयाँ उठेको थियो । महोत्सव आयोजक समितिका अध्यक्ष विजय साँवाले समुदाय परिचालन तथा सरसफाइमा एक लाख, यातायात व्यवस्थापनमा तीन लाख, कदर पत्रमा तीन लाख, महिला तथा पुरुष फुटबल सहितका खेलकुद कार्यक्रम तर्फ छ लाख, सांस्कृतिक कार्यक्रम तर्फ एक लाख ४३ हजार खर्च भएको बताए ।

महोत्सवको प्रचार प्रशरमा दुई लाख, फोटो प्रदर्सनीमा एक लाख ८० हजार, स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा दुई लाख, अतिथि स्वागत ५० हजार, कार्यक्रम स्थल तयारीमा दुई लाख २० हजार र कार्यक्रम स्थलको तयारीमा एक लाख रुपैयाँ खर्च भएको छ ।

नाफाको रकममध्ये पाँच लाख रुपैयाँबाट भविष्यका लागि समुदायलाई आवश्यक पर्ने साउन्ड सिस्टम, स्टेज लगायतजको व्यवस्थापन गरिएको र एक लाख ५० हजार रुपैयाँ बैंक मौज्दात रहेको कोषाध्यक्ष सुकबहादुर लिम्बू बताउँछन् । गाउँपालिका अध्यक्ष भत्तबहादुर कार्कीले महोत्सवले फुङफुङे झरनाको प्रचारमा टेवा पुगेको बताए । १ सय ८० मिटर लामो झरना हेर्न मानिसहरु यि स्थानमा जाने गरेका छन् । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully