पाँचथर — बाढी, पहिरोजस्ता विपद्ले दुःख दिइरहने मेची राजगमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पेनस्टक पाइपमार्फत डाइभर्सन गरी वर्षाभर यातायात सञ्चालन गरिने भएको छ ।
सडक डिभिजन इलामले ३.५ मिटर उचाइ भएको एकथान र २.२ मिटर उचाइका ३ थान गरी जम्मा ४ थान पेनस्टक पाइपमार्फत पानी कटाएर सवारी र ढुवानीका साधनलाई खोला वारपार गराउने तयारी पूरा गरेको हो । तेस्रो पटक निर्माणाधीन मोडुलर ब्रिज जडानकै क्रममा भाँचिएपछि विकल्पमा पेनस्टक पाइपबाट डाइभर्सन गरिएको हो ।
पेनस्टक राखेर बनाइएको डाइभर्सनबाट आइतबारदेखि सवारी आवागमन गराउने तयारी छ । चारवटा पाइपबाट प्रति सेकेन्ड ७८ घनमिटरका दरले पानी सहजै पार हुने डिभिजन प्रमुख पवन भट्टराईले जानकारी दिए ।
पुल नभएर सवारी आवागमन अनिश्चित हुँदा ताप्लेजुङ र पाँचथरको याङवरक हिलिहाङ र फालेलुङ गाउँ पालिकाका बासिन्दा प्रत्यक्ष प्रभावित भएपछि यस्तो विकल्प खोजिएको हो । यहाँ राख्ने पेनस्टक पाइप ताप्लेजुङका तीनवटा हाइड्रो पावरले उपलब्ध गराएका हुन् ।
‘ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको विशेष समन्वयमा हाइड्रो पावर सञ्चालकहरुबाट पेनस्टक पाइप उपलब्ध भएसँगै स्ट्र्रक्चर निर्माणको काम सुरु गरिएको हो,’ डिभिजन प्रमुख भट्टराईले भने ।भट्टराईका अनुसार यो विधिबाट डाइभर्सन गर्न करिब पाँच लाख रुपैयाँ खर्च भएको छ ।
पेनस्टकबाट ठूलो परिमाणमा पानी कट्ने भएकाले ठूल्ठूला ढुंगामुढा बगेर नआएसम्म समस्या झेल्नु नपर्ने प्राविधिकहरुको अनुमान छ ।
मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई सिमाना छुट्याएर बग्ने हेवाखोलामा पहिलोपटक २०८० असार २ गते आएको बाढीले पक्की पुल बगाएको थियो । त्यसपछि जडान गरिएको बेलिब्रिज २०८१ असोज १२ को बाढीले बगाएपछि तेस्रोपटक जडान गरिएको मोडुलर ब्रिज २०८२ जेठ ३१ गते भाँचिएपछि यस्तो विकल्प खोजिएको हो ।
