पूर्वमा प्रधानमन्त्री, झापा र इलामका कार्यक्रममा दुई दिन व्यस्त रहने

असार २८, २०८२

रासस

In the east, the Prime Minister will be busy for two days with programs in Jhapa and Eelam

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आइपुगेका छन् । दुई दिनसम्म उनी झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

आज बिहान ११ बजे उनलाई चन्द्रगढी विमानस्थलमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत नेताले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओली आज र भोलि झापा र इलाम जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने एमाले जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले आजै बुद्धशान्ति गाउँपालिका–३ स्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्नुका साथै कन्काई नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपूर्जा वितरण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले आजै इलामको माई नगरपालिकाका अव्यवस्थित बसोबासी, भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाको धनीपुर्जा वितरण गर्ने र माई नगरपालिकामा रहेको नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष गिरीले बताए ।

आइतबार दमक नगरपालिकास्थित कृष्ण मन्दिरबाट उत्तरपूर्वतर्फको मदनडाँगी–ताराबारी–डिपो सडकखण्डको उद्घाटन र बिर्तामोडको सिटीसेन्टरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गरेपछि उनी काठमाडौँ फर्किने कार्यक्रम छ ।

रासस

Link copied successfully