ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका-६ लेलेप थाक्पाखोलामा आएको बाढीको सबैभन्दा ठूलो असर जलविद्युत्मा परेको छ । यहाँका दुई सयभन्दा बढी घर परिवारले अबको एक महिनासम्म अँध्यारोमै बस्नुपर्ने भएको छ ।
वडाध्यक्ष पेम्बाटासी शेर्पाका अनुसार शनिबारदेखि कुलो मर्मतको काम सुरु हुनेछ । तर यसलाई पूर्णता दिन एक महिनासम्म लाग्ने भएको हो ।
‘खोलाले ओलाङचुङगोला जाने सडक पनि बगायो, लावाजिन जाने पैदलयात्रीका लागि बनाइएका दुईवटा आरसीसी पुल पनि बगायो,’ पेम्बाले भने, ‘सडक र पैदलमार्ग त शनिबार (भोलि) सम्म बनाउँछौं, तर बिजुली बनाउनेचाहिँ समय लामै लाग्ने भयो ।’
विद्युत् मर्मतमा २० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । यसका लागि फक्ताङलुङ गाउँपालिकाले विपत् राहत कोषबाट ५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । रिभर साइड हाइड्रो पावर कम्पनीले फलामको रड उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । पालिकाले दिएको पैसाले सिमेन्ट, बालुवा व्यवस्थापन गर्ने र बाँकी काम जनश्रमदान बाट गर्ने समझदारी भएको पेम्बा बताउँछन् ।
थाक्पाखोलाबाट तीन वर्षअघि ५२ किलोवाट विद्युत् उत्पादन गरिएको थियो । यसले २ सय ६२ घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएको थियो । पहरामा ड्रिलिङ र आरसीसी गरेर कुलो जोड्नुपर्ने भएकाले दक्ष कामदारको आवश्यकता रहेको वडाध्यक्ष पेम्बाले बताए । यहाँ विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगेको छैन । राष्ट्रिय प्रसारण लाइन लैजाने विषयमा पनि छलफल भएको तर भरपर्दो नभएकाले स्थानीय उत्पादननै मर्मत गर्ने निर्णयमा गाउले पुगेको स्थानीय तेन्जिङ शेर्पा बताउँछन् ।
हाइड्रोपावरको एक्स्काभेटर र गाउँपालिकाको तेल प्रयोग गरेर ओलाङचुङगोला जोड्ने सडक भने सञ्चालनमा ल्याउने गाउँपालिकाले जनाएको छ ।
