उदयपुर — उदयपुरको बेलका नगरपालिका-८ बोक्ताङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति बोक्ताङबाट घर फर्किंदै गरेका बूढीगंगा गाउँपालिका मोरङका ३२ वर्षीय अनल राजवंशीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बोप्ताङबाट सोमबारेतर्फ जाँदै गरेको को ३८ प ९८७ नम्बरको मोटरसाइकल कच्ची बाटोमा अनियन्त्रित भई दुर्घटना हुँदा चालक राजवंशी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका उनलाइ उपचारका लागि विराट शिक्षण अस्पताल लगिएकोमा अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीले बताए ।
उनका अनुसार मोटरसाइकल पछाडि बसेकी भोजपुर षडानन्द नगरपालिका-७ कि १८ वर्षीया तुलसा कार्की मोटरसाइकलबाट हाम फालेर ज्यान बचाउन सफल भइन् । सामान्य घाइते भएकी उनको बेलका नगर अस्पतालमा उपचारपश्चात् डिस्चार्ज भएकी छिन् ।
