नदी तथा खोला किनारमा बसोबास गर्नेलाई सतर्क रहन खोटाङ प्रशासनको आग्रह

असार २४, २०८२

डम्बरसिं राई

Khotang Administration urges people living on the banks of rivers and streams to be vigilant

खोटाङ — जिल्ला प्रशासन कार्यालय खोटाङले नदी तथा खोला आसपास बसोबास गर्नेहरूलाई सतर्क रहन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म औसतभन्दा बढी पानी पर्ने जानकारी गराएकाले नदी तथा खोला आसपास बसोबास गर्नेहरूलाई सतर्क रहन मंगलबार राति सूचना जारी गरेको हो । 'जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानहरूमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरेकाले अविरल वर्षाका कारण खोटाङ जिल्ला र सीमानामा प्रवाहक्षेत्र रहेका दूधकोशी, सुनकोशी, रावाखोला, सावाखोला, साप्सुखोला र जिल्ला भित्र बग्ने अन्य स–साना दिखुवा खोला, तावाखोला, दुवाखोला, मेवाखोला, तापखोला, लैकुखोला, बुवाखोला, छेपेखोला, खरुवाखोलाजस्ता खोला तथा नदीहरूमा समेत बहाव बढ्दै गएकाले आगामी असार २६ गतेसम्म सतर्क रहन अनुरोध छ,’ सूचनामा भनिएको छ । 

यो अवधिमा आवतजावत गर्ने तथा यात्रा गर्ने क्रममा सजगता अपनाउन, अत्यावश्यक परेमा बाहेक रात्रिको समयमा यात्रा नगर्न समेत प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेद्वारा हस्ताक्षरित सूचनामा आग्रह गरिएको छ । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully