ताप्लेजुङको सिस्ने खोलामा बेलिब्रिज निर्माण

असार २४, २०८२

आनन्द गौतम

Construction of belay bridge on Sisne River in Taplejung

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका र फुङलिङ नगरपालिकाको सिमानामा रहेको सिस्ने खोलामा बेलिब्रिज निर्माण गरिएको छ ।

चीनसँगको सिमाना टिपताला भन्ज्याङसम्म पुग्ने तमोर कोरिडोर सडकमा पर्ने सिस्ने खोलामा बेलिब्रिज निर्माण गरिएको हो । 

तमोर जलविद्युत् आयोजनाले निर्माण गरेको यो बेलिब्रिज करिब चार करोडको लागतमा निर्माण सम्पन्न भएको माथिल्लो तमारे जलविद्युत् आयोजनाकी संयोजक सम्झना क्षेत्रीले जानकारी दिइन् । यसको उद्घाटन फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले मंगलबार गरेका छन् । 

क्षेत्रीका अनुसार सामान झरेको तीन दिनमा निर्माणको काम सम्पन्न भएको हो । ‘चार दिनमा सक्ने लक्ष्य राखिएको थियो,’ उनले भनिन्, ‘निर्माण कम्पनिले तीन दिनमै सम्पन्न गरे ।’

अब सदरमुकाम फुङलिङबाट छुटेका सवारी फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकसम्म पुग्न कुनै अवरोध हुने छैन । यसले फक्ताङलुङ गाउँपालिकाका सबै वडाका नागरिकलाई राहत पुग्नेछ । यहाँ ७ वटा वडा छन् । 

सिस्ने खोलामा पुल नहुँदा यातायात सञ्चालनमा समस्या रहेको थियो । 

अपर तमोर जलविद्युत् आयोजनाले फक्ताङलुङ गाउँपालिकाको तापेथोकमा तमोर इनर्जी प्रालिमार्फत २ सय ८५ मेगावाट विद्युत् उत्पादन गर्दैछ । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully