खोटाङमा ५० शय्याको जिल्ला अस्पताल

असार २२, २०८२

डम्बरसिं राई

A 50-bed district hospital at Khotang

खोटाङ — खोटाङ जिल्ला अस्पताललाई १५ शय्याबाट विस्तार गरी ५० शय्यामा स्तरोन्नति गरिएको छ।

प्रदेश सरकारले स्तरोन्नतिपछि आइतबार कोसी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले उद्घाटन गरे। तर अस्पतालको भवन भने निर्माण भइसकेको छैन।

मन्त्री राईले भवन निर्माणको काम बाँकी रहे पनि अन्य सेवा सुविधा विस्तार गर्नका लागि उद्घाटन गर्नुपरेको बताए। सेवा विस्तारका लागि बजेट पनि पर्याप्त मात्रामा उपलब्ध गराइएकाले सेवा विस्तारका लागि ५० शय्याको अस्पताल उद्घाटन गरिएको राईको भनाइ छ। औषधि प्रशोधन केन्द्र, उपकरण, औषधि खरिद लगायतका लागि पर्याप्त बजेट व्यवस्था गरिएको मन्त्री राईले बताए।

खोटाङमा स्वास्थ्य क्षेत्रका लागि १६ करोड बजेट विनियोजन गरिएको उनको भनाइ छ। ‘भवन अलपत्र परे पनि सेवा सुविधा विस्तार गर्नका लागि ५० शय्याको अस्पताल उद्घाटन गरिएको हो,' राईले भने, 'भवन पनि सकेसम्म चाँडो निर्माण भइसक्छ। यो वर्ष स्वास्थ्य क्षेत्रमा औषधि प्रशोधन केन्द्र, उपकरण, औषधि खरिद लगायत जनशक्तिसम्मका लागि पर्याप्त बजेट विनियोजन गरिएको छ ।’

कोसी प्रदेश सरकारको जेठ १२ गतेको बैठकले जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । २२ करोड ९० लाख ४७ हजार ९२ रूपैयाँको लागतमा ३० महिनाभित्र सक्ने गरी श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले २०७८ असार २४ गते सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासंग सम्झौता गरेको थियो । तर अहिलेसम्म पनि काम नसकिँदा सेवा प्रभावित भएको छ ।

काम नसकिएपछि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले निर्माण सम्बद्ध कम्पनीहरूलाई ताकेता गरेका छन्। ताकेता पछि आगामी मङ्सिरभित्र सक्ने गरी कार्यतालिका बुझाएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए। उक्त भवनको भौतिक प्रगति ७० प्रतिशत मात्र छ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully