सामूहिक आक्रमणमा परेकी महिलाको अवस्था गम्भीर, मिलापत्र गर्न दबाबपछि फर्काइएको थियो घर

पीडकमाथि ज्यान मार्ने उद्योग र अभद्र व्यवहारमा मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पनि दर्ता भएन

असार २०, २०८२

लक्ष्मी गौतम

The condition of the woman who was attacked by the group was serious, she was returned home after pressure to reconcile

पाँचथर — स्थानीय चारजनाको सांघातिक आक्रमणमा परी पाँचथरको फाल्गुनन्द गाउँपालिका आङसराङकी ३६ वर्षीया सरस्वता कुरुम्बाङ गम्भीर घाइते भएकी छन् । 

उनको टाउको, ढाड, पिठ्युँ, हात र खुट्टामा चोट लागेको छ । असार १० गते बिहान भएको घटना ढिला गरी सार्वजनिक भएको हो ।

सरस्वतालाई स्थानीय २५ वर्षीया कविता आङदेम्बे र ३९ वर्षीया दमन्ता आङदेम्बेसहित ४ जनाको समूहले निर्घात कुटपिट गरेका थिए ।कुटपिटमा संलग्न दुई पुरुषको नाम भने खुलाइएको छैन । पीडकहरुले सरस्वताको घर र करेसाबारीमा सुँगुर छाडेर बारम्बार अन्नबाली खुवाउने गरेका थिए । यसो नगर्न अनुरोध गर्दा उल्टै कुटपिट गरेको पीडितका श्रीमान् राम कुरुङबाङ बताउँछन् । 

कुटपिटपछि घाइते सरस्वतालाई तत्काल उपचारका लागि पाँचथर अस्पताल ल्याइएको थियो । तर, पीडक पक्षले गाउँमै मुद्दा मिलाउने भन्दै उपचार गर्न नदिई 'डिस्चार्ज पेपर' बनाएर घरैमा बस्न बाध्य बनाएको पीडितका श्रीमान् रामले जानकारी दिए ।

‘गाउँघरको कुरा गाउँमै मिलाउनुपर्छ, मुद्दामामिलामा जान हुँदैन, उपचार खर्च हामी बेहोर्छौं भनेपछि घर फर्कायौं,' उनले भने, 'बिरामी झन् जटिल अवस्थामा पुगेपछि थप उपचारका लागि झापास्थित बीएन्डसी अस्पतालमा भर्ना गरिएको छ ।’

सामूहिक आक्रमणमा परेकी सरस्वतालाई उपचार नगरी घरमा राखिएको जानकारी पाएसँगै उनका भाइ अनुप योङहाङ र टार्जन योङहाङले थप उपचारका लागि अस्पताल पुर्‍याएका हुन । त्यहाँ पुर्‍याएकी सरस्वताको अवस्था अझै पनि जटिल रहेको अनुपले बताए । ‘थिलथिलो शरीर दुख्ने त भयो नै, खाएको खानेकुरा केही अडिँदैन, वान्ता भइरहन्छ, एमआरआई गर्दा टाउकामा चोट देखाएको छ,’ उनले भने ।

सरस्वताका श्रीमान् राम र भाइ टार्जनले पीडकहरुमाथि ज्यान मार्ने उद्योग र अभद्र व्यवहारमा मुद्दा चलाउन अनुरोध गर्दै जिल्ला प्रहरी कार्यालय पाँचथरमा बुधबार जाहेरी दिएका छन् । यद्यपि जाहेरी भने दर्ता भएको छैन ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी कौशल बुढाथोकीले कुटपिट गर्ने पक्षलाई सम्पर्कमा बोलाइएको जानकारी दिए । जाहेरी दर्ता गरेर मुद्दा प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ । 

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully