उदयपुर — किर्ते माइन्युट तयार गरी ठगी गरेको आरोपमा उदयपुरका एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरले किर्ते तथा ठगी मुद्दामा त्रियुगा नगरपालिका–१० बोक्सेका ३५ वर्षीय अंगिश श्रेष्ठलाई बिहीबार पक्राउ गरेको हो।
महिला जनजागृति बचत तथा ऋण सहकारी संस्थाका पूर्वपदाधिकारीहरूको नाममा किर्ते माइन्युट खडा गरी युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम हिनामिना गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताए।
पक्राउ परेका श्रेष्ठ युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उदयपुर जिल्ला प्रतिनिधि रहेको प्रहरीले जनाएको छ। उनलाई उदयपुर जिल्ला अदालतबाट किर्ते गरी ठगी गरेको सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, प्रहरीले बेलका नगरपालिका–१ आम्बासीबाट ५ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ। अस्थायी प्रहरी बिट आम्बासीबाट खटिएको टोलीले बिहीबार रामपुर बजारबाट कञ्चनपुरतर्फ जाँदै गरेको स २ प ८२१९ नम्बरको मोटरसाइकल जाँच गर्दा गाँजा फेला पारेपछि बेलका नगरपालिका–८ का ३० वर्षीय युवराज राईलाई पक्राउ गरेको हो।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय रामपुरमा राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी दोङले जानकारी दिए।
