ताप्लेजुङ — कन्चनजंघा हिमालका पहिलो आरोही बेलायती नागरिक जर्ज बेण्ड संस्थापक रहेको हिमालयन ट्रष्ट युकेको सहयोगमा फक्ताङलुङ र सिरिजंगा गाउँपालिकाका विद्यार्थी, शिक्षक, अभिभावक पुरस्कृत भएका छन् ।
वार्षिक परीक्षामा प्रथम भएका ४२ जना विद्यार्थीले एक हजारका दरले पुरस्कार प्राप्त गरेका छन् भने उत्कृष्ट विद्यालयले ४५ हजार पाएका छन् । हिमालयन ट्रष्टसँगको समन्वयमा काम गरिरहेको संस्था ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले सिकाई उपलब्धी प्रवर्द्धन कार्यक्रम अन्तर्गत यसरी पुरस्कृत गरेको हो ।
रिड नेपालको कार्यक्षेत्रका विद्यालयका स्टार टिचर अवार्डबाट चार जना पुरस्कृत भएका छन् । सरस्वती मावि तापेथोकका मित्र दाहाल, सुनदेवी मावि इखाबुका लिला मावोहाङ, लुङथुङ आधारभूत विद्यालयका मिङमा साङगे शेर्पा, शितला आधारभूत विद्यालय खेवाङका सुमित्रा मग्रान्ती ।
उत्कृष्ट कार्य सम्पादन गर्ने विद्यालय कर्मचारीतर्फ कञ्चनजंघा आधारभूत विद्यालयका कविता लिम्बू पुरस्कृत भएकी छन् । स्रोत नेतृत्व समूहतर्फ सरस्वती च्यारिवुक मावि लेलेपका प्रधानाध्यापक मिङमाग्याञ्जे शेर्पा, रानी आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद खतिवडा र लक्ष्मी मावि मामाङ्खेका शिक्षक राजेन्द्र भट्टराई पुरस्कृत भए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा शिक्षक अभिभावक संघतर्फ सरस्वती आधारभूत विद्यालयका दीपक लिम्बू र महेन्द्र आधारभूत विद्यालय खेवाङका जिना राई पुरस्कृत भए । दीपक विद्यालय व्यवस्थापन समिति अध्यक्ष र राई शिक्षक अभिभावक संघका अध्यक्ष हुन् ।
स्टार स्कुल अवार्डको पुरस्कारबाट लुङथुङ आधारभूत विद्यालयका सोनाम शेर्पा पुरस्कृत भए । बेष्ट प्रफमिङ स्कुल सरस्वती माध्यमिक विद्यालय तापेथोकका प्रधानाध्यापक चन्द्रमणि सुब्बा लिम्बू, रानी आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद खतिवडा पुरस्कृत भए । उनीहरुले पाँच हजारका दरले पुरस्कार प्राप्त गरेका छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउने विद्यालयतर्फ सरस्वती माध्यमिक विद्यालय तापेथोकका चन्द्रमणि सुब्बा लिम्बू पुरस्कृत भए । उनले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । सरस्वती माध्यमिक विद्यालय तापेथोक र रानी आधारभूत विद्यालय इखावु समान अंकसहित उत्कृष्ट विद्यालय बने ।
उनीहरुले ४५ हजारका दरले पुरस्कार प्राप्त गरेको रिड नेपालका प्रबन्धक राजेन्द्र पन्त बताउँछन् । यी दुई विद्यालय अघिल्लो वर्ष पनि उत्कृष्ट भएका थिएनन् । पुरस्कृत छनोटका लागि मापदण्ड रहेको र त्यही मापदण्डका आधारमा छनोट गरिने पन्त बताउँछन् ।
अभिभावक, विद्यालयका प्रधानाध्यापक, गाउँपालिका, शिक्षा समन्वय समिति र रिड नेपालले वार्षिक अनुगमनपछि अंक दिन्छन् । धेरै अंक प्राप्त गर्नेले पुरस्कार प्राप्त गर्छ । फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा (विकास) र शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई यसले शिक्षक, विद्यार्थी र अभिभावको उत्साह बढ्ने बताउँछन् ।
रिड नेपालको कार्यक्षेत्रमा ३८ वटा विद्यालय रहेका छन् । यो पुरस्कारका लागि वार्षिक तीन लाख रुपैयाँ खर्च हुने रिड नेपालका लेखापाल तेज उपाध्यायले जानकारी दिए । रिड नेपालले २०७० सालबाट यस्तो अवार्ड प्रदान गर्न थालेको हो । पन्तका अनुसार २०७७, २०७८ र २०७९ तीन वर्ष कोरोना संक्रमणका कारण पुरस्कार वितरण हुन सकेन । त्यसअघि र पछिका वर्ष निरन्तर चलिरहेको छ ।
