इटहरीको बजेट गत वर्षभन्दा एक अर्ब कम

असार १०, २०८२

अर्जुन सुवेदी

Itahari's budget is one billion less than last year

सुनसरी — इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि २ अर्ब ५५ करोड २१ लाखको अनुमानित बजेट पेस गरेको छ ।

नगर उपप्रमुख संगीताकुमारी चौधरीले मंगलबार सुरु १६ औं नगरसभामा गत वर्षभन्दा एक अर्ब कमको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । चालु आर्थिक वर्षका लागि गत वर्ष उपमहानगरले ३ अर्ब ५७ करोड ८३ लाख ५० हजार रुपैयाँको बजेट विनियोजन भएको थियो ।

नगरसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०८२/०८३ को अनुमानित बजेटमा संघीय समानीकरण अनुदान २८ करोड ३० लाख, संघीय ससर्त अनुदान चालु खर्च तर्फ ४७ करोड १६ लाख, संघीय ससर्त अनुदान पुँजीगत खर्चतर्फ ४३ करोड २० लाख संघीय समपूरक अनुदान १ करोड ३६ लाख, संघीय विशेष अनुदान १ करोड ४२ लाख, प्रदेश समानीकरण अनुदान २ करोड ७५ लाख ६६ हजार, प्रदेश ससर्त अनुदान चालु खर्च तर्फ  ७८ लाख ५ हजार, प्रदेश ससर्त अनुदान पुँजीगत खर्चतर्फ १ करोड २९ लाख २५ हजार, संघीय राजश्व बाँडफाँड १९ करोड २५ लाख १० हजार ७ सय ५९ रुपैयाँ, प्रदेश राजश्व बाँडफाँड (सवारी कर) २ करोड १ लाख ७३ हजार, प्रदेश राजश्व बाँडफाँड (मालपोत रजिष्ट्रेसन) ४० करोड, आन्तरिक स्रोतबाट ५८ करोड, र नगद मौज्दात परिवर्तनबाट ९ करोड ६७ लाख २० हजार २ सय ४१ रुपैयाँ गरी कुल जम्मा २ अर्ब ५५ करोड २१ लाखको अनुमानित बजेट पेश गरिएको हो । 

आगामी आर्थिक वर्ष स्थानीय जनताको माग बमोजिम भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको उपप्रमुख चौधरीले जानकारी दिइन् । जसमा संघीय सरकार र प्रदेश सरकारसँग आवश्यक समन्वय गरी इटहरी उपमहानगरपालिकाको बाहिरी चक्रपथको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ ।

यस्तै, इटहरीको सर्वाङ्गीण विकासका लागि गुरुयोजना तयार गरिने मुख्य योजनाममा समेटिएको छ । बजेटमा इटहरीलाई सुन्दर सहर बनाउन सौन्दर्यकरणका लागि सडक निर्माणसँगै सडक क्षेत्राधिकार भित्र पर्ने आवश्यक स्थानमा रोड फर्निचर लगाउने, पैदलयात्रीको सहजताका लागि कोशी राजमार्ग दुईवटा आकाशे पुल निर्माण गर्न बजेट छुट्याइएको छ ।

विश्व बैंकसँगको सहयोगमा इटहरीमा मुख्य समस्याको रुपमा रहेको बाढी तथा डुबान समस्या दीर्घकालीन रुपमा समाधानका लागि नमूना कार्यक्रमका रुपमा आएका प्रकृतिमा आधारित मोडेलबाट बाढी नियन्त्रण गर्ने कार्यको सम्भाव्यता चालु आर्थिक वर्षमा भइसकेकोमा आगामी वर्ष कार्यान्वयनमा ल्याइने भएको छ ।

अर्जुन

Link copied successfully