धरान — धरान उपमहानगरपालिकामा मेयर उपमेयर विवादले नगरसभामा बजेट तथा कार्यक्रम प्रभावित भएको छ ।
आगामी नगरसभामा धरानको बजेट तथा कार्यक्रम पेस गर्न आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको लागि नगरसभाको मिति तय गर्न बोलाइएको कार्यपालिका बैठक आइतबार सुरु नै नभइ स्थगित भएपछि नगरसभा अनिश्चित भएको हो । कार्यपालिका बैठक आह्वान गरिएको भएपनि बैठकमा प्रमुख प्रशासकीय अधिृकतसमेत अनुपस्थित रहेका थिए ।
स्थानीय तहमा असार १० गतेभित्र नगरसभामा वार्षिक बजेट तथा कार्यक्रम पेस गर्नुपर्ने कानुनी प्रावधान भएपनि आइतबारको बैठक स्थगित भएपछि नगरसभा कार्यक्रम अनिश्चत भएको हो ।
उपमेयर अइन्द्रविक्रम बेघासहित २८ जना नगर कार्यपालिका सदस्यहरुले कानुनी प्रक्रिया र आवश्यक तयारी नगरी कार्यपालिका बैठक बस्न औचित्य नदेखिएको भन्दै लिखितरुपमा पत्र बुझाएपछि मेयर हर्क साम्पाङले बैठक स्थगित गरेका थिए ।
उपमेयर बेघाका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ को उपदफा ६ को १ बमोजिम स्थानीय तहको स्रोत अनुमान तथा बजेट सिमा प्रत्येक वर्षको वैशाख १० गतेभित्र निर्धारण गरिसक्नुपर्ने प्रावधान छ । सोको जानकारी वैशाख १५ गतेभित्र विषयगत महाशाखा, शाखा र वडाहरुलाई उपलब्ध गराइसक्नुपर्ने प्रावधान भएपनि सिलिङ बजेट पूर्ण नभएको बताए ।
उक्त बैठकमा मेयर साम्पाङले पहिलो एजेन्डा नगर सभा राखेका थिए । राजस्व परामर्श समितिको बैठक बसेर समितिले १ अर्ब ६० करोड १५ लाख ४८ हजार बराबरको बजेट हुनुपर्छ । सोको लागि वैशाख ३१ गते प्रतिवेदन बुझाइ सकेको भएपनि मेयरबाट केही प्रगति वा छलफल नभइ सिधै कार्यपालिका बैठकको सूचना आयो र यसरी कानुन र विधिसम्भत नभएकोले बैठक स्थगित गरेको उपमेयर बेघाले भने ।
'स्रोत अनुमान तथा सिमा निर्धारण समिति मेयरको संयोजकतामा हुन्छ तर उहाँको नेतृत्वमा बैठक बसेको छैन,' उपमेयर बेघाले भने, 'स्रोत अनुमान तथा सिमा निर्धारण समितिको बैठक बसेपछि मात्र बजेट तथा कार्यक्रम तर्जुमा समितिको छलफल हुने अनि मात्र कार्यपालिका बैठक बस्ने उपमेयर बेघाले भनाइ छ ।
यस्तै, तोकिएको सीमाभित्र रहेर बजेट तथा कार्यक्रम तर्जुमा समितिले स्थानीय तहको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गरी असार १० गते अगावै कार्यपालिकाबाट अनुमोदन गराइ असार १० गतेभित्र स्थानीय तहको सभामा पेस गर्ने प्रावधान पनि उक्त ऐनमा रहेको छ । तर, धरानमा भने अहिलेसम्म यस्तै कुनै तयारी भएको छैन । यसअघि बजेट सिलिङ तथा सिमा निर्धारण समितिको बैठकमा पनि विवाद भएको थियो । त्यसबेला मेयर साम्पाङका समर्थकहरु उपमहानगरमा पुगेपछि धरानमा तनावपूर्ण स्थिति बनेको थियो ।
आइतबार कार्यपालिका बैठकमा मेयर साम्पाङले नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेका थिए । असार १० गते नगरसभा आहृवान गर्ने र उक्त दिन नीति तथा कार्यक्रम पेस गरेर स्थगित गर्ने र बजेट तथा कार्यक्रमबारे पछि छलफल गरेर सहमति जुटेपछि नगरसभा आहृवान गर्ने रणनीति उनको थियो तर उपमेयर अइन्द्रविक्रम बेघासहित २८ जना नगर कार्यपालिका सदस्यहरुले कानुनी प्रक्रिया र आवश्यक तयारी नगरी कार्यपालिका बैठक बस्न औचित्य नदेखिएको भन्दै लिखितरुपमा पत्र बुझाएपछि कार्यपालिका बैठक स्थगित भएपछि नगरसभा कहिले गर्ने भन्ने अनिश्चित भएको छ । गत वर्ष पनि अन्तिम समयमा सहमति जुटेर नगरसभा भएको थियो ।
