ताप्लेजुङ — मैवाखोला गाउँपालिकाले गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म पुर्याएर प्रसूति गराउने महिला स्वास्थ्य स्वयंसेविकालाई प्रति गर्भवती एक हजार रुपैयाँका दरले प्रोत्साहन रकम दिने भएको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट विवरण सार्वजनिक गर्दै गाउँपालिका उपाध्यक्ष कमल कुमारी लिम्बूले यसका लागि एक लाख रुपैयाँ छुट्याइएको बताइन्।
छ वटा वडा रहेको गाउँपालिकामा एक आर्थिक वर्षमा एक सय जना सुत्केरी हुने लक्ष्य राखिएको छ । स्वास्थ्यकर्मी घरघरमा गएर स्वास्थ्य परीक्षण गर्नका लागि पाँच लाख रुपैयाँ छुट्याइएको छ। शिक्षातर्फ प्रधानाध्यापकलाई मासिक भत्ता, उत्कृष्ट प्रधानाध्यापक र शिक्षक पुरस्कारका लागि ४ लाख ५० हजार छुट्याइएको छ ।
प्रधानाध्यापकलाई मासिक एक हजारका दरले छुट्याइएको छ । कक्षा ११ र १२ का विद्यार्थीलाई पाठयपुस्तक गाउँपालिकाले उपलब्ध गराउने भएको छ । यो गाउँपालिकाले विद्यालयस्तरमा खेल सञ्चालनका लागि ५७ लाख रुपैयाँ बिनियोजन गरेको छ।
विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्न फुटबल, भलिबल, तेक्वान्दो, कराँते, उसु, कबड्डी र एथलेटिक्स को प्रशिक्षकका लागि बजेट विनियोजन गरिएको छ । यो गाउँपालिकाले चवालिस करोड ७१ लाख १६ हजारको बजेट प्रस्ताव गरेको छ ।
