भोजपुरमा भूमि आयोगले थाल्यो सुकुम्बासी प्रमाणीकरण

असार ७, २०८२

रासस

In Bhojpur, the Land Commission has started squatter verification

भोजपुर — भोजपुरमा भूमि आयोगले सुकुम्बासीको प्रमाणीकरण काम थालेको छ ।

यसअघि संकलित तथ्यांकका आधारमा आयोगले सुकुम्बासीको प्रमाणीकरण थालेको हो । 

षडानन्द नगरपालिकामा आवेदन परेका ६० जना सुकुम्बासीको पालिकास्तरबाट प्रमाणीकरण गर्ने निर्णय गरिएको छ । वडास्तरीय सहजीकरण समितिमार्फत आएका ६० जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासीको पालिकास्तरबाट प्रमाणीकरण गर्ने निर्णय भएको भूमी आयोग भोजपुरका अध्यक्ष देवीराम चौलागाइँले जानकारी दिए ।

सुकुम्बासीको प्रमाणीकरणको लागि पौवादुङमा, हतुवागढी, साल्पासिलिछो र आमचोक गाउँपालिकामा वडास्तरमा सात दिने सूचना प्रकाशन गरिएको अध्यक्ष चौलागाइँको भनाइ छ । पालिकास्तरमा निर्णय भएर आएकाको जिल्लामा पुनः प्रमाणीकरण गरेपछि लालपूर्जा वितरणको काम अघि बढाउने आयोगले जनाएको छ ।

'हामीले वडास्तरबाट सुकुम्बासीको प्रमाणीकरण थालेका छौं,' अध्यक्ष चौलागाइँले भने, 'षडानन्द नगरपालिकामा ६० जनाको पालिकास्तरबाट प्रमाणीकरण भएको छ । अन्य पालिकामा पनि काम अघि बढाएका छौँ ।'

भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीलाई लक्ष्य गरेर उनीहरुको तथ्याङ्क सङ्कलन पश्चात वडा तथा पालिकास्तरबाट प्रमाणीकरण थालिएको हो । अन्तिम प्रमाणीकरणमा परेकालाई राज्यको नियम अनुसारको जग्गा वितरण हुने आयोगले जनाएको छ । 

रासस

Link copied successfully