टिमाइ खोलाबाट प्रहरीले लियो पाँच ट्र्याक्टर नियन्त्रणमा

असार ७, २०८२

नवराज सुवेदी

Police seized five tractors from Timai River

झापा — टिमाइ खोलाबाट अवैध रुपमा नदीजन्य सामग्री ओपारपसार गरिरहेका पाँच वटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो बुद्धशान्ति–४ स्थित टिमाइ खोलामा नदीजन्य सामग्री उत्खनन तथा ओसारपसार गरिरहेका मे १ त ५१३५, मे १ त ७३७२, मे १ त ७५४३, मे १ त ६४४६ र मे १ त २४१६ नं को ट्र्याक्टरलाई गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

उक्त ट्र्याक्टरहरु आवश्यक कारबाहीका लागि बुद्धशान्ति गाउँपालिका पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

‘अहिले नदीजन्य पदार्थ उत्खनन गर्न पाइँदैन । तर, ती ट्र्याक्टरले खोलाबाटै नदीजन्य सामग्री निकालिरहेको पाइयो । त्यसैले नियन्त्रणमा लिइएको हो,’ झापा प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले भने । असार १ गतेबाट कुनै पनि नदी/खोलाबाट नदीजन्य सामग्री उत्खनन गर्न पाइँदैन । सोहीअनुरुप पालिकाले पनि यसअघि नै सूचना जारी गरेर नदीजन्य सामग्रीको उत्खननमा रोक लगाइसकेको बताउँछन् बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं ।

‘टिमाइ खोला किनार क्षेत्रका स्थानीयबाट अवैध रुपले नदीजन्य सामग्री उत्खनन भइरहेको छ भनेर सूचना आयो । यसबारे प्रहरीलाई खबर गरियो । प्रहरी पुग्दा पाँच वटा ट्र्याक्टर खोलामै सामग्री निकालिरहेका थिए,’ अध्यक्ष प्रसाईंले भने, ‘उक्त ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर पालिकामा ल्याएको हो ।’

आइतबार यस सम्बन्धमा पालिकाले थप अनुसन्धान गर्ने र पालिकाको नीतिअनुरुप अवैध सामानलाई जफत गर्दै राजस्व तिराएर छाडिने उनले बताए । उनका अनुसार टिमाई खोला किनारमा तटबन्ध पनि निर्माण भइरहेको छ । ‘कुनै वडाको सिफारिसमा तटबन्धका लागि पो नदीजन्य सामग्री ओसारिएको हो कि ! आवश्यक अनुसन्धान गरेर भोलि निचोडमा पुग्छौं,’ उनले भने ।

Police seized five tractors from Timai River

नवराज सुवेदी

Link copied successfully