बीपी प्रतिष्ठानले क्यान्सरका सिकिस्त बिरामीलाई घरमै गएर उपचार सेवा दिने

असार ६, २०८२

एलिना राई

BP Foundation will provide home treatment services to cancer patients

धरान — धरान उपमहानगरपालिकामा पहिलो पटक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्यान्सरका सिकिस्त बिरामीलाई घरमै गएर उपचार दिने सेवाको सुरुवात गरेको छ ।

क्यान्सरका बिरामीहरूलाई लक्षित गरी आवश्यक पर्ने नियमित या आकस्मिक उपचार सेवाहरू सर्वसाधारणहरूलाई सहज रूपमा उपलब्ध गराउन प्रतिष्ठानले  ‘होम बेस्ड हस्पाइस केयर’ सेवा सुरु गरेको हो ।

क्यान्सरका सिकिस्त बिरामी तथा अस्पताल आउन कठिन भएका बिरामीहरूलाई लक्षित गरी स्वास्थ्यकर्मीहरूको टोलीले घरैमा गएर उपचार गर्ने व्यवस्था मिलाइएको बीपी प्रतिष्ठानको सह–प्रवक्ता डा. अभिजीत कुमारले जानकारी दिएका छन् । यो सेवा काठमाडौँ बाहेक धरानमा नै पहिलो पटक रहेको सह–प्रवक्ता डा. कुमारको भनाइ छ ।

क्यान्सरका कारण दु:खाइको पीडाले असह्य भएर छटपटाइ रहेको तथा कमजोर भइ घरमा थलिएर बसेको समयमा उपचारका लागि अस्पताल आउनुपर्ने कठिन परिस्थितिको सामना गर्नु परेका बिरामी तथा आफन्तजनका लागि ठूलो राहत दिने विश्वास प्रतिष्ठानले लिएको छ ।

सह–प्रवक्ता डा. कुमारका अनुसार यस सेवा लिनको लागि प्रतिष्ठानको आन्तरिक चिकित्सा विभाग अन्तर्गतको ओन्कोलोजी एकाइसँग समन्वय गरी सर्वसाधारणले सेवा लिन सकिने छ ।

उक्त सेवाको लागि प्रतिष्ठानले हाललाई प्रति भिजिट पन्ध्र सय शुल्क निर्धारण गरेको छ भने विपन्न परिवारका बिरामीको हकमा भने प्रतिष्ठानले विपन्न बिरामीलाई प्रदान गर्ने नियमानुसारको निःशुल्क सेवा दिने व्यवस्था गरिएको छ । हाललाई यो सेवा धरान उपमहानगरपालिका भित्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

घरमै गएर उपचार गरिने यस प्रकारको कार्यक्रममा क्यान्सर रोग भएका सिकिस्त बिरामीहरूलाई क्यान्सर सम्बन्धी प्रशिक्षित नर्सहरू र डाक्टरहरू लेभेटी, लक्षण व्यवस्थापन गर्ने, उपशामक व्यवस्थापन गर्ने, भावनात्मक/आध्यात्मिक सहयोग गर्ने जस्ता कार्यका साथै पारिवारिक परामर्श प्रदान गरिने सह–प्रवक्ता डा.कुमारले जानकारी दिएका छन् । 

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully