उदयपुरमा दुई जना मृत फेला

असार ४, २०८२

राकेश नेपाली

Two people were found dead in Udaipur

उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा दुई जनाको शव फेला परेको छ । स्थानीय २८ वर्षीय रबिन राई र १४ वर्षीया किशोरी मञ्जु राई बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन् । 

इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरीक्षक बबिन राईका अनुसार मञ्जुको शव अमलचौरी गाउँको बाटोमा लडिरहेको र त्यसको दुई सय मिटरतल रबिनको शव झुन्डिएको अवस्थामा फेला परेको हो । स्थानीयले बिहानै बाटोमा शव देखेपछि प्रहरीलाई खबर गरेको र प्रहरी पुगेर खोजतलास गर्दा रबिनको समेत शव भेटिएको राईले बताए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीले शव पोस्टमार्टमका लागि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र घटनाका विषयमा अनुसनधान सुरु भएको बताए । 

मृतक बालिका चौदण्डीगढी नगरपालिका-२ स्थित सिंहदेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रहेको र युवक रबिन केही दिनअघि मात्र काठमाडौंबाट घर आएको बताइएको छ । 

राकेश नेपाली राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully