गाईघाटस्थित क्याफेमा एक पुरुष मृत फेला

असार ४, २०८२

राकेश नेपाली

A man was found dead in a cafe in Gaighat

उदयपुर — उदयपुरको त्रियुगा नगरपालिका–११ गाईघाट स्थित आपाज क्याफेमा एक पुरुष मृत फेला परेका छन् ।

त्रियुगा नगरपालिका–१३ असारीका २४ वर्षीय विशाल हमाल ठकुरी बुधबार बिहान क्याफेको एक कोठामा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी केदारमान दोङका अनुसार बिहान अबेरसम्म ढोका नखोलेपछि क्याफेका कर्मचारीहरुले ढोका खोलेर भित्र हेर्दा हमाल मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । 

मृतक हमाल सुतेको कोठामा वियरका बोतलहरु र लागुपदार्थ सेवनका लागि प्रयोग गरिने सामाग्रीसमेत भेटिएको डिएसपी दोङले बताए । 

मृतक ठकुरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको र घटनाको विषयमा अनुसन्धान सुरु भएको उनले बताए । हमाल बेलुका ७ बजे नशाले लठ्ठ देखिने गरि क्याफेमा आएको र क्याफेकै कोठामा सुतेका उनी बिहान मृत अवस्थामा भेटिएको क्याफेका सञ्चालक विकास राईले बताए ।

राकेश नेपाली राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully