उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिका–४ शनिबारे बजारमा महिलाले घाँटीमा लगाएको सुनको सिक्री चोरेर भाग्दै गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
बेल्टार बजारका दुई महिलाले लगाएको १२ आना र १० आना सुनको सिक्री घाँटीबाट थुतेर भाग्दै गरेका वीरगन्ज महानगरपालिका–२० का १९ वर्षीय सचिन राजपूतलाई प्रहरीले पक्राउ गरेको हो।
पीडित महिलाहरूले घटनाको विषयमा प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी बसाहको टोलीले राजपूतलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बेल्टारमा राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले जानकारी दिएका छन्।
