जनकपुरधाम — मधेश प्रदेशका अर्का सांसद पनि निलम्बन भएका छन् । शुक्रबार सरोजसिंह कुशवाहा निलम्बन भएको प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलले अख्तियार दुरुपयोग अनुसन्धानको निलम्बनसम्बन्धी पत्र पढेर सुनाएका हुन् ।
सिंह बिहीबार काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए । जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट सिंह महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४(२) बाट निर्वाचित भएका थिए ।
विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको रकम नीजि सचिव विनोदलाल कायस्थको खातामा जम्मा गरी घुसबापतको उक्त रकम सिंहले आफ्नो खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
उनका सचिव कायस्थ महोत्तरीबाटै केही दिनअघि पक्राउ परेका थिए । मधेश प्रदेशसभामा १ सय ७ जना सांसद थिए । जसमध्ये तीन जना सांसद निलम्बन भइसकेका छन् । यसअघि दिपेन्द्र ठाकुर र अभिराम शर्मा निलम्बन भइसकेका छन् ।
