धनकुटा — धनकुटामा गाईवस्तुमा लाग्ने लम्पीस्किन रोग देखा परेको छ । धनकुटा नगरपालिका क्षेत्रका केही स्थानमा रोग देखा परेपछि उच्च सावधानी अपनाइएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका अनुसार धनकुटा नगरपालिका वडा ६ र १० मा गरी तीन स्थानमा लम्पीस्किन देखा परेको हो । केही दिनअघि मात्रै धनकुटा नगरपालिका ६ पात्लेखोलाका डिल्लीराम राईको र १० का दुर्गा अधिकारीको गाईमा लम्पीस्किन देखा परेको थियो ।
ति स्थानमा रोग देखा परेसँगै केन्द्रले थप संक्रमण हुन नदिन खोप लगाउने कार्य थालेको छ । डिल्लीराम राईले गाई बिरामी भएर पशु स्वास्थ्यकर्मीलाई खबर गर्दा लम्पीस्किन देखिएको र खोप लगाइसकिएको बताए ।
‘प्रारम्भिक अध्ययनमा खोप नलगाइएका गाइभैंसीमा रोग देखिने गरेको छ’, केन्द्रका पशु विकास अधिकृत तथा सूचना अधिकारी दिनेश कार्कीका अनुसार यतिबेला जिल्लाभर नै सचेतिकरण अभियान र गाईवस्तुमा भ्याक्सिन लगाइएको छ ।
जोखिम बढ्न सक्ने भन्दै केन्द्रले दश हजार भ्याक्सिन तयारी अवस्थामा राखेको कार्कीले बताए । गाईगोरु भैँसीको शरीरमा पैसाको आकारको डावर देखिने र फुटेपछि घाउ भएर मृत्यु हुने अवस्थामा पुग्ने जनाइएको छ । रोग लागेका गाईभैँसीमा ह्वात्तै दूध उत्पादन घट्ने गरेको कार्कीले बताए ।
जिल्लामा दुई वर्ष पहिले लम्पीस्किनले महामारीको रुपमा लिएको थियो । केन्द्रका अनुसार अघिल्लो वर्ष समस्या देखिएको थिएन । ‘धनकुटामा लम्पीस्किन रोगको संक्रमण फैलिने देखेर कार्यालयले बेलैमा भाइजर खोप तयारी अवस्था राखेको छ,’ कार्कीले भने, ‘धनकुटाका सात वटै पालिकाका लागि झण्डै १० हजार भाइजर खोप ल्याइएको छ ।’
किसानहरुले आफ्ना पशु बिरामी भए मात्रै भाइवर खोप लगाउने नभइ पहिले नै पशु चौपायाको ख्याल गर्ने हो भने लम्पीस्किन लाग्नबाट बचाउन सकिने कार्कीले बताए । नेपालमा पहिलो पटक २०७७ असारमा लम्पीस्किन देखिएको थियो । धनकुटामा दुई वर्ष अघिको महामारीमा १५ हजार ४०६ गाईवस्तु लम्पीस्किनबाट प्रभावित भएका थिए ।
२०७७ र २०७८ मा १६ जिल्लाका २९ पालिकामा फैलिएको रोगबाट ३ हजार ३ सय १ पशु संक्रमित भएका थिए । त्यसैगरी अघिल्लो वर्ष लम्पीस्किन फैलिँदा ६५ हजार ४ सय ४१ पशु मरेका थिए । यो वर्ष पनि बेलैमा पशुहरुलाई भाइजर खोप नलगाए फेरि माहामारी कै रुप लिन सक्ने आशंका गरिएको छ ।
लम्पीस्किन रोग लामखुट्टे, किर्ना र भुसुना जस्ता कीराहरुले यो रोगको विषाणु रोगी पशुबाट स्वस्थ पशुमा सार्ने गर्छन् । यसबाहेक रोगी पशुहरुको सिगान, दूध र घाउबाट निस्केको पीप, रगत, जस्ता जैविक रसहरुको प्रत्यक्ष संसर्गबाट पनि यो रोग सर्न सक्ने विज्ञको भनाइ छ ।
यो रोगका लक्षणहरु साधारण र हल्का रुपका देखि निकै कडा खालको पनि देखिन सक्छ । साना पशुहरुमा यो रोग कडा रुपमा लाग्छ भने वयस्क पशुहरुमा साधारण लक्षणहरु देखिन सक्छ । लम्पिस्किन रोग लाग्दा रोगी पशुहरुमा ज्वरो आउने, अरुचि हुने र झोक्राउने जस्ता लक्षण देखिन्छन् । त्यसको २–३ दिनमा पशुको शरीरभरि नै, छालामा गिर्खा र गाँठाहरू देखिने गर्छन् ।
यस्ता गिर्खा र गाँठाहरूमा पिप जम्मा भई यो घाउमा परिणत हुन्छ र यसमा जिवाणुजन्य संक्रमण भई समस्या झन् बढ्दै जाने भएकाले तुरुन्तै नजिकका पशु सेवा विज्ञ केन्द्रमा सम्पर्क गर्नुपर्ने पशु विकास अधिकृत तथा सूचना अधिकारी कार्कीको भनाइ छ ।
