घरको छाना, फलैँचा, होर्डिङ बोर्ड उडायो
ताप्लेजुङ — मंगलबार दिउँसो वर्षासहितको हावाहुरीले पाथीभरा क्षेत्रको काफ्ले पाटी र बलुडाँडा क्षेत्रमा व्यापक क्षति पुर्याएको छ ।
स्थानीयका अनुसार अपराह्न ४ बजेदेखिको वर्षा र हावाहुरीले घरका छानाहरू उडाएको छ भने फलैँचा, चौतारा, होर्डिङबोर्डहरु उडाएको छ ।
काफ्लेपाटीमा देउमान लामाको घरको छानाको सवै जस्तापाता उडाएको छ भने दलबहादुर पौडेलको भान्साघरको छाना उडाएको स्थानीय राजमणि पोख्रेलले जानकारी दिए । सोलार प्लेटहरु झरेर भुइँमा फुटेका र छरपस्ट भएका छन् । माथिल्लो फेदी होटल व्यवसायी संघका अध्यक्ष इन्द्रनारायण भट्टराईका अनुसार बलुडाँडामा डिल्लीराम भट्टराई खत्रीको घर र विश्वकर्मा पार्टी पूर्णरुपमा भत्काएको छ । खगेन्द्र केरुङ लिम्बूको छानो उप्काएर जंगलमा थुपारेको, टेकमान भट्टराई खत्रीको घरको छानो उप्काएको र भञ्ज्याङ खाजाघर नजिकको फलैँचा उप्काएर जंगलमा पुर्याएको भट्टराईले बताए ।
यो क्षेत्रमा असिना पानी परेको र भुइँको झारपात तथा रुखका हाँगा झार्ने गरिको असिना परेको स्थानीयले बताएका छन् ।
