असन्तुष्ट विद्यालयका शिक्षकहरुले सामूहिक हस्ताक्षर गर्दै आयोजकलाई निवेदन दिएका छन्
झापा — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले झापाको विर्तामोडमा उद्घाटन गरेको विज्ञान तथा प्रविधि प्रदर्शनीमा ठूलो प्रचार गरेर सहभागी विद्यालयहरूलाई झुक्याइएको छ ।
शनिबारदेखि विर्तामोडस्थित देवी माविमा नेकपा एमाले विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको विज्ञान तथा प्रविधि प्रदर्शनीका प्रतियोगीलाई पुरस्कार वितरणमा विभेद गरिएको हो । प्रथम, द्वितीय, तृतीय र चौथो स्थान प्राप्त गर्ने विद्यालयलाई क्रमशः चार लाख, तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार प्रदान गरिने भनी आयोजकले व्यापक प्रचार गरेको थियो ।
यसैगरी, सहभागी उत्कृष्ट २५ विद्यालयलाई २५ हजारका दरले प्रतिभा प्रोत्साहन पुरस्कार प्रदान गर्ने पनि घोषणा गरिएको थियो । जुन कार्यक्रमको उद्घाटन नै पूर्वराष्ट्रपति भण्डारीले भव्यताका साथ गरेकी थिइन् ।
प्रदर्शनीमा विद्यालयको उपस्थिति उत्साहजनक थियो । तर, प्रदर्शनीको समापन सत्रमा आयोजकले उपस्थित विद्यालयलाई झुक्याएर पुरस्कार वितरणमै विभेद गरिएको छ ।
समापनमा भने प्रथम, द्वितीय र तृतीयलाई मात्रै पुरस्कार दिइयो । घोषणाअनुसार एक लाखको चौथो पुरस्कार दिइएन ।
२५ विद्यालयलाई २५ हजारका दरले प्रतिभा प्रोत्साहन पुरस्कार दिने भनिए पनि ९ विद्यालयलाई मात्रै दिइयो । यसरी झुक्याइएपछि शिक्षक तथा विद्यार्थीहरुले आयोजकलाई घेरेका थिए । असन्तुष्ट विद्यालयका शिक्षकहरुले सामूहिक हस्ताक्षर गर्दै आयोजकलाई निवेदन नै दिए ।
प्रदर्शनीमा सहभागी फूलबारी मावि बाह्रदशी-५ का शिक्षक घनश्याम उप्रेतीले आयोजकले एक किसिमको प्रचार गरेर त्यो प्रतिबद्धतालाई पूरा नगर्नु आपत्तिजनक रहेको बताए । ‘कम्तीमा प्रोत्साहन पुरस्कार पाइन्छ भनेर विद्यार्थीले आफ्नै खर्चमा विज्ञानका विभिन्न प्रोजेक्ट तयार पारेर ल्याएका थिए । तर, आयोजकले प्रतिबद्धता गरेबमोजिम पुरस्कार दिएन । जसबाट विद्यार्थी निराश छन्,’ उनले भने, ‘प्रचार एउटा गर्ने अनि झुक्याउने ! हामीले यस विषयमा सामूहिक निवेदन नै लेखेर आयोजकलाई बुझायौं ।’
यस विषयमा बुझ्दा एमाले विज्ञान तथा प्रविधि विभाग कोशी प्रदेश प्रमुख गणेश पोखरेलले सुरुमा एउटा जिल्लाबाट १० विद्यालय सहभागी हुने आकलन गरिएकामा त्यसबमोमिज नआएपछि पुरस्कार घटाइएको बताए । ‘कतिपय जिल्लाबाट त सहभागी नै भएनन् । कति जिल्लाबाट एउटा मात्रै सहभागी भए,’ उनले भने, ‘जिल्लागत रुपमा प्रदेशका जिल्लाबाट आउने विद्यालयलाई प्रोत्साहनस्वरुप २५ हजार पुरस्कार दिने भनिएको थियो । तर, सबै जिल्लाबाट आएनन् ।’
प्रदर्शनीमा कोशी प्रदेशभरका ६० भन्दा बढी विद्यालयले आफ्ना विद्यार्थीद्वारा निर्मित वैज्ञानिक प्रयोगका सामग्री प्रदर्शन गरेका थिए ।
प्रदर्शनीमा बुद्धशान्तिको आदर्श मावि, विर्तामोडको देवी मावि र तेह्रथुमको सिंहदेवी मावि क्रमश: प्रथम, दोस्रो र तेस्रो भए ।
