ताप्लेजुङ — एक भारतीय नागरिकसहित प्रहरीले पाँच जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आठ ग्राम खैरो हेरोइन, क्याप्सुल लगायतका सामग्रीसहित उनीहरु पक्राउ परेका हुन् ।
प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार सबै अभियुक्त फुङलिङ नगरपालिकाबाट समातिएका हुन् । फक्ताङलुङ गाउँपालिका-२ घर भई फुङलिङ-६ बस्दै आएका विमर्श सुन्दास, वार्ड नं १० का नवीन गुरुङ र सांकेतिक नम्बर ई भएका एक व्यक्ति पक्राउ परेको प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए । तीनै जनाको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आईपी लेखिएको ११६ वटा र डाइसाइक्लोमिन एचसीएल ट्याब्लेट ५९ वटा फेला परेको बस्नेतले बताए ।
उनीहरुसँगको सोधखोजपछि कारोबारीसमेत रहेका थप दुईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । फुङलिङ नगरपालिका-६ पाथीभरा चोकका सुजन तामाङ र भारत पश्चिम बंगालका निपेन बर्मन समातिएका हुन् । बर्मनले लागुऔषध खैरो हेरोइनको कारोबार गर्ने गरेको सूचना प्रहरीले प्राप्त गरेको छ । उनीहरुका साथबाट तराजु, मोबाइल, नगदसमेत बरामद भएको छ ।
प्रहरी नायव उपरीक्षक गौतमले लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको बताए ।
